एकै घरका आठ बालबालिका आर्थिक अभावकै कारण स्कुल जानबाट वञ्चित

भिई, मुगु । सदरमुकाम गमगढीबाट २१ कोष टाढाको सोरु गाउँपालिका-३, भिईस्थित एकै घरका आठ दलित बालबालिका आर्थिक अभावकै कारण स्कुल जानबाट वञ्चित भएका छन् । एक वर्ष अगाडि छतबाट खसेर बाबु मुन कुमालको मृत्यु भएपछि आठ सन्तानको पढाइ छुटेको हो । आरन पेसा गरेर परिवार धान्दै आएका मुनको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको थियो ।

उनको मृत्युपछि १७ वर्षीय मनरुप, १५ वर्षीय ज्ञानी, १३ वर्षीया नानी, ११ वर्षीया सभी, ९ वर्षीया रमला, ७ वर्षीय राजेन्द्र, ५ वर्षीय रन्ज र ४ वर्षीय सुर कुमालले पढाइलाई निरन्तरता दिन सकेनन् । आमा र जेठा छोरा मनरुपको कमाइले बिहान-बेलुका खान पनि नपुग्ने भएपछि उनीहरू स्कुल जान छाडेका हुन् ।

बाबुको मृत्युपछि ९ कक्षा पढ्दै गरेका मनरुपले पढाइ छाडेर आरन पेसालाई निरन्तरता दिएका छन् । माइलो छोरा ज्ञानी गाउँलेसँगै भारत गएका छन् । गाउँलेको फलामका सामग्री बनाए बापत पाउने अन्न र आमाले अरुको काम गरेर ल्याएको अन्नले परिवार धानेका छौ । मनरुपले भने, “बाबुको मृत्युपछि घरको सबै जिम्मा मेरै काँधमा आएको छ । आरनको कमाइले सात भाइबहिनीलाई कापीकलम किन्नसमेत नपुग्ने भएपछि पढाउन सकिएको छैन ।”

गाउँमा खेतबारी नभएकाले अहिले सबै परिवार लेकमा रहेको घरमा बसिरहेका छन् । आफूहरू बसेको स्थानबाट गाउँको विद्यालय पुग्न दुई घन्टा लाग्छ । आर्थिक अभावकै कारण सबै भाइबहिनीलाई पढाउन नसकिए पनि एक-दुई जनालाई मात्रै भए पनि पढाउने चाहना रहेको मनरुपले बताए । अन्नपूर्णपोष्ट बाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 15 =