संविधान संशोधनको पक्षमा मतदान गर्ने राप्रपाको निर्णय

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संविधान संशोधन विधेयकलाई समर्थन गर्ने निर्णय गरेको छ। निशान छाप परिवर्तन गर्न आज संसद्मा पेस हुने संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो।
राप्रपा अध्यक्षहरूको आज बसेको बैठकले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्न निर्णय गरेको राप्रपाद्वारा जारी विज्ञप्तिमा भनिएको छ। सरकारले आजको प्रतिनिधिसभा बैठकमा संविधान संशोधन विधेयक पेस गर्ने कार्यसूची रहेको छ। कानूनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
विधेयकलाई सर्वसम्मत पारित गराउने उद्देश्यले प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार सर्वदलीय बोलाएर छलफल गरेका थिए। लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका भूभाग समेटिएको नेपालको अध्यावधिक नक्सा अनुसूची ३ मा उल्लेख गरिएको निशान छापमा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्न लागिएको हो।
संविधान संशोधन विधेयक गत जेठ ९ गते संसद् सचिवालयमा दर्ता गरिएको थियो। मन्त्रिपरिषद् बैठकले गत जेठ ५ गते लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग समेटिएको नयाँ नक्सा पारित गरेको थियो।









