बारा क्षेत्र नं ३ मा त्रिकोणात्मक लडाइँ

कार्तिक २३, बारा । निर्वाचन क्षेत्र नं ३ बारामा त्रिकोणात्मक लडाइँ हुने भएको छ । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि निर्वाचन क्षेत्र नं ३ मा नेपाली काँग्रेसबाट सरकारका वर्तमान मन्त्री फरमुल्लाह मंसुर, सङ्घीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष रामबाबुकुमार यादव र वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) का पूर्व जिल्ला सचिव अध्यानन्द पाण्डे चुनावी प्रतिस्पर्धामा उत्रेका छन् ।

तिनै नेताहरू बिच प्रतिस्पर्धा हुने कुरा मतदाता बताउँछन् । तर, चुनावमा बाजी कसले मार्ला भन्ने कुरा त निर्वाचनको परिमाणले देखाउने छ । सरकारका मन्त्री मंसुर देश र जनताका लागि काम गरेर लोकप्रियता बटुलेका उम्मेदवारका रूपमा परिचित छन् । त्यति मात्र नभई विकासप्रेमीका रूपमा पनि उत्तिकै लोकप्रिय छन् मन्त्री मंसुर । फोरम नेपालका अध्यक्ष यादवले भने तराई मधेसको आन्दोलनमा बारामा निकै महत्त्वपूर्ण भूमिका निर्वाह गरी मधेसको हकअधिकारका लागि अहोरात्र खटिएका पात्रका रूपमा जिल्लाभरि नै चर्चा कमाएको छन् ।

त्यसै गरी, वाम गठबन्धनका उम्मेदवार पाण्डे पनि सरल, अनुशासित, जनप्रेमी, विकासप्रेमी, समाजसेवीका रूपमा जिल्लामा नै परिचित नेताका रूपमा गनिन्छन् । त्यसैले निर्वाचन क्षेत्र नं ३ का तीनै उम्मेदवार आफ्नो ठाउँमा बलिया नै रहेकाले तीव्र प्रतिस्पर्धा हुने देखिन्छ । निर्वाचन क्षेत्र नं ३ मा कुल ८४ हजार ६६९ मतदाता रहेका छन् । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =