नेकपाका दुई पक्षबीच सहमति जुटेन : मंगलबार सचिवालय बैठक बस्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेताहरुको सोमबार भएको छलफलमा ठोस निश्कर्ष निस्कन सकेको छैन । बिहान प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा वरिष्ठ नेता माधवकुमार नेपालबीच बालुवाटारमा एक्लाएक्लै वार्ता भएको थियो ।

सोमबारै कोटेश्वरमा रहेको नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघको कार्यालयमा भएको छलफलमा कुनैपनि सहमती हुन सकेको छैन । मंगलबार सचिवालय बैठक बसी सहमति हुन नसकेका विषय स्थायी समिति वा केन्द्रीय कमिटीमा लगिनेछ ।

पछिल्लो समय सत्तारुढ नेकपा भित्र देखिएको आन्तरिक विवाद मिलाउन नेताहरुबीचको अनौपचारिक छलफलले तीव्रता पाएको हो ।

बैठकमा नेता नेपालले एक व्यक्ति, एक पदको नीति दृढतापूर्वक लागु गर्ने अडान लिएपछि कुनै समहति हुन सकेन।

छलफलमा ओलीका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, शंकर पोखरेल, महासचिव विष्णु पौडेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली थिए। भने नेपालका तर्फबाट नेपाल, सुरेन्द्र पाण्डे, भीम रावल र रघुजी पन्त सहभागी थिए।

छलफलमा नेता भीम रावलले भने, ‘उहाँहरुले कहाँ गल्ती कमजोरी छन्, खोजौं र मिलौं भन्नु भयो। हामीले पनि गल्ती कमजोरी हटाउने, पार्टीलाई एकताबद्ध गर्ने उद्देश्य हो। त्यही कारण बैठक माग गरेका हौं। जे जे गर्नुपर्छ बैठकमै गरौं भन्यौं, भोली नै सचिवालयको बैठक र पर्सी स्थायी कमिटी बैठक गरौं। त्यहाँ खुलस्त छलफल गरौं। त्यही निष्कर्ष निकालौं।’

नेता रावलले बैठकमा अर्को समूहका नेताहरुबाट कुनै प्रस्ताव नआएको बताएका छन् ।

उनले भने ‘त्यहाँ कुनै प्रस्ताव आएको छैन। नीतिगत कुरामै छलफल केन्द्रीय भयो। गल्ती कमजोरी होलान्। त्यसबारे पार्टीको उच्चतहमा कुरा गरौं। अनौपचारिक छलफल गरौं भनेर उहाँहरुले भन्नु भयो, छलफल गर्ने कुरामा के आपत्ति भयो र ? छलफल हुँदै आएको छ, अब पनि गरौंला। तर, अनौपचारिक छलफलभन्दा हामीले बैठक माग गरेका छौं। तुरुन्त बैठक बसौं, त्यहीं छलफल गरौं। पार्टीलाई विधि पद्दतिमा चलाऔं हामीले भन्यौं।’

यस्तै नेता रघुजी पन्तले मंगलबार सचिवालय बैठक बस्ने सहमति भएको बताएका छन्। उनले मंगलबार बस्ने सचिवालय बैठकले स्थायी कमिटी बैठकबारे निर्णय गर्ने समेत बताए।

‘सरकारका र पार्टीका कामको विना पूर्वाग्रह समीक्षा गर्नुपर्छ र यो समस्याको निकास हामीले खोज्नु पर्छ’, पन्तले भने, ‘निकास पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीको हैसियतमा उहाँ (ओली)ले दिने हो । गतिरोध टुंग्याउने ढंगले निकास दिनुपर्छ भन्ने कुरा भयो ।’ स्थायी कमिटी बैठक बोलाउन २० स्थायी कमिटि सदस्यले लिखित माग गरिसकेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *