लोकतान्त्रिक संस्कार नै मेरो राजनीतिको प्रेरणा स्रोत हो: देउवा

काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्र, राष्ट्रियता र समाजवादको संरक्षणका लागि काँग्रेस सदैव दृढ रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

वीपी कोईरालाको ४४ औँ स्मृति दिवसका अवसरमा देउवाले उक्त प्रतिवद्धता व्यक्त गरेका हुन् ।

देउवा अहिले उपचारका क्रममा विदेशमा छन् । देउवाले पठाएको सन्देश वाचन गर्दै नेता मिन विश्वकर्माले वीपी कोईरालाको मेलमिलापको नीति र जनताको सर्वोच्चताप्रतिको विश्वास आज पनि नेपाली राजनीतिको मुख्य मार्गदर्शक सिद्धान्त रहेको उल्लेख गरे ।

वीपी कोईरालाको नेतृत्वबाट राजनीतिक यात्रा शुरु गरेको ६ दशकभन्दा लामो अनुभव स्मरण गर्दै देउवाले लोकतान्त्रिक संस्कार र मूल्य–मान्यता नै आफ्नो राजनीतिको प्रेरणा स्रोत रहेको बताए । मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै देउवाले वर्तमान सरकारको कार्यशैलीप्रति प्रश्न उठाए ।

फरक विचारप्रति असहिष्णु बन्ने, राज्य शक्तिको प्रतिशोधपूर्ण प्रयोग गर्ने र राजनीतिक पूर्वाग्रहका आधारमा प्रतिपक्षलाई दबाउने प्रवृत्ति लोकतान्त्रिक समाजका लागि स्वीकार्य नहुने उनको तर्क छ । देउवाले न्यायपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संवैधानिक निकायहरूलाई कार्यकारी नियन्त्रणमा राखी प्रतिपक्षलाई आतङ्कित तुल्याउने औजारका रूपमा प्रयोग गर्न खोजिएको आरोप समेत लगाएका छन् ।

यस्तो चुनौतीपूर्ण घडीमा लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षा गर्ने ऐतिहासिक जिम्मेवारी फेरि नेपाली काँग्रेसको काँधमा आएको उनले उल्लेख गरे । विगतका आठ दशकमा काँग्रेसले लोकतान्त्रिक आन्दोलनको नेतृत्व मात्र नगरी शान्ति प्रक्रिया, संविधान निर्माण र प्राकृतिक विपत्तिका समयमा समेत जिम्मेवार भुमिका खेलेको स्मरण गर्दै देउवाले वर्तमान चुनौती सामना गर्न पार्टी पछि नहट्ने स्पष्ट पारे ।

वीपी कोईरालाले २०३३ सालमा अघि सारेको राष्ट्रिय मेलमिलापको नीति आजको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक र जीवित आदर्श रहेको उनको भनाइ छ । व्यक्तिगत सुरक्षाभन्दा राष्ट्र र लोकतन्त्रलाई माथि राखेर अघि बढ्नु नै वीपीप्रतिको सच्चा सम्मान हुने देउवाले सन्देशमा उल्लेख गरेका छन् ।

देउवाले नेपाली जनताको लोकतान्त्रिक चेतना र न्यायप्रतिको विश्वासले नै मुलुकलाई सही दिशामा डोर्याउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − three =