कांग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिऊँ, नयाँ पार्टी निर्माण गरौँ: मोहन बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले राष्ट्रिय भेला घोषणा गरेर नयाँ पार्टी निर्माणको प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन् ।

बिपी स्मृति दिवसका अवसरमा बुधबार काठमाडौंमा संस्थापन इतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै बस्नेतले पार्टी एकताको सम्भावना कमजोर बन्दै गएको भन्दै अब नयाँ ढंगले अघि बढ्नुपर्ने धारणा राखे ।

उनले पार्टी निर्माणको काममा ढिलाइ हुँदा नेता–कार्यकर्ता आफ्नो राजनीतिक अस्तित्व खोज्न बाध्य भएको बताए । ‘पार्टी बनाउने काम दुई महिनाअघि नै गरेको भए आज हरेक महिना समय थप्नुपर्ने अवस्था आउने थिएन । हामीबाटै कमीकमजोरी भयो, हामीबाटै ढिलासुस्ती भयो,’ उनले भने ।

बस्नेतले नेपाली कांग्रेस कमजोर भए त्यसको असर पार्टीमा मात्रै सीमित नहुने भन्दै लोकतन्त्र र मुलुककै भविष्यमा असर पर्ने दाबी गरे ।

‘नेपाली कांग्रेस कमजोर भयो भने प्रजातन्त्र मात्रै दुर्घटनामा पर्दैन, मुलुक नै कसको हातमा जाने हो भन्ने गम्भीर प्रश्न खडा हुन्छ,’ उनले भने ।

उनले अब थप ढिलाइ नगरी राष्ट्रिय भेला बोलाएर स्पष्ट निष्कर्षमा पुग्नुपर्ने बताए । ‘आज केन्द्रीय भेलाको मिति घोषणा हुनुपर्छ । पार्टी फुटाउने होइन, बनाउने हो । अर्को पार्टी बनाउने हो,’ बस्नेतले भने ।

उनले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई लक्षित गर्दै कांग्रेस र प्रजातन्त्रवादी शक्तिहरूलाई उनीसँग ‘सति जान’ दिन नहुने टिप्पणी गरे ।

‘गगन थापासँग नेपाली कांग्रेस र प्रजातन्त्रवादीहरू सति जान दिने होइन । कमजोर पार्टीको नेता बन्ने होइन, बलियो पार्टीको कार्यकर्ता बन्नुपर्छ,’ उनले भने ।

बस्नेतले पार्टीभित्र लामो समयदेखि अधिवेशन हुन नसक्दा भ्रातृ संगठनहरू समेत निष्क्रिय बन्दै गएको उल्लेख गर्दै नेतृत्वले त्यसको जिम्मेवारी लिनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 10 =