प्रधानमन्त्री भेटेपछि महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’

काठमाडौं । सरकारले हस्तकला क्षेत्रका समस्या समाधानका लागि हस्तकला विकास बोर्ड स्थापना गर्ने भएको छ ।
प्रधानमन्त्री बालेन्द्र साह र नेपाल हस्तकला महासंघका पदाधिकारीबीच बुधबार भएको छलफलमा सरकार र निजी क्षेत्रको समन्वयमा बोर्ड गठन प्रक्रिया अघि बढाउने सहमति भएको हो ।
प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासंघका अध्यक्ष रवीन्द्र शाक्यले हस्तकला क्षेत्रका समस्या समाधानका लागि बोर्ड आवश्यक रहेको बताए ।
‘हस्तकला क्षेत्रमा भएका समस्या, चुनौती र अवसरलाई समष्टिगत रूपमा मूल्यांकन गरी त्यसको समाधानका लागि हस्तकला विकास बोर्ड खडा गर्ने भन्ने अवधारणामा हामी सहमत भएका छौँ,’ उनले भने ।
उनले बोर्डमार्फत हस्तकला क्षेत्रको नीति निर्माण, निर्यात प्रवर्द्धन र व्यवसायीका समस्या समाधानका लागि संस्थागत पहल हुने बताए । ‘नेपाल सरकार र निजी क्षेत्रको समन्वयमा हस्तकला विकास बोर्ड खडा गर्ने कुरा भएको छ । यसले हस्तकला क्षेत्रलाई व्यवस्थित रूपमा अघि बढाउन सहयोग गर्नेछ,’ शाक्यले भने ।
छलफलमा हस्तकला वस्तुको निर्यात प्रवर्द्धन, नगद अनुदान, भ्याटसम्बन्धी समस्या, हस्तकलाकर्मी तथा कलाकारको परिचय व्यवस्थापन, सार्क हस्तकला विकास केन्द्र सञ्चालन र हस्तकलाका लागि छुट्टै नीतिगत व्यवस्थालगायत विषयमा छलफल भएको उनले जानकारी दिए ।
शाक्यका अनुसार प्रधानमन्त्री साहले हस्तकला क्षेत्रलाई प्राथमिकतामा राखेर नीतिगत सुधार र संस्थागत संरचना निर्माणमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
‘प्रधानमन्त्रीसँगको छलफल निकै सकारात्मक भयो । हस्तकला क्षेत्रका व्यावहारिक समस्या समाधान गर्न सरकार सकारात्मक देखिएको छ,’ उनले भने ।
विगत १५ वर्षदेखि मनाइँदै आएको हस्तकला दिवसलाई राष्ट्रिय मान्यता दिने महासंघको प्रस्तावमा पनि प्रधानमन्त्रीले आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको शाक्यले बताए ।
उनका अनुसार हस्तकला सामग्री निर्यात गर्दा व्यवसायीले पाउनुपर्ने पाँच प्रतिशत रकमलाई निरन्तरता दिने विषयमा समेत प्रधानमन्त्री सकारात्मक छन् । उक्त रकम तीन वर्षदेखि रोकिएको महासंघको भनाइ छ ।
हस्तकला सामग्री निर्यात गर्दा हाल व्यवसायीहरूले स्वघोषणाका आधारमा काम गर्दै आएको भन्दै शाक्यले बिजक मूल्यांकन प्रणाली आवश्यक रहेको बताए ।
‘निर्यातका विषयमा देखिएका समस्या, नगद अनुदान र भ्याटका विषयमा पनि सकारात्मक छलफल भएको छ । कार्यविधिमार्फत समस्या समाधान गर्ने प्रतिबद्धता प्रधानमन्त्रीबाट आएको छ,’ उनले भने ।
प्रधानमन्त्री साहले हस्तकला व्यवसाय, कला संरक्षण, रोजगारी सिर्जना र हस्तकला पुस्तान्तरणका विषयमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । महासंघका अनुसार सातै प्रदेशमा हस्तकला ग्राम स्थापना गरी रोजगारी सिर्जना गर्ने र सीप प्रशिक्षण केन्द्र सञ्चालन गर्ने विषयमा पनि छलफल भएको छ ।
त्यस्तै, सरकारी तथा गैरसरकारी संरचना निर्माणमा नेपाली हस्तकलाको प्रयोग बढाउने विषयमा समेत सरकार सकारात्मक रहेको महासंघले जनाएको छ ।
‘सार्वजनिक संरचनाहरू निर्माण गर्दा नेपाली कला र हस्तकलाको प्रयोग बढाउन सकिन्छ भन्ने विषयमा पनि छलफल भयो,’ शाक्यले भने ।
नेपाल हस्तकला महासंघका अनुसार नेपाली हस्तकला उद्योगले वार्षिक करिब २७ देखि २८ अर्ब रुपैयाँ बराबरको निर्यात गर्दै आएको छ । हाल ८२ प्रकारका नेपाली हस्तकला सामग्री ६० देशमा निर्यात भइरहेको महासंघले जनाएको छ ।
महासंघका अनुसार अनलाइन बजार विस्तार, युवा सहभागिता र सहज नीतिगत वातावरण निर्माण गर्न सके हस्तकला क्षेत्रले निर्यात, राजस्व वृद्धि र रोजगारी सिर्जनामा थप योगदान पुर्याउन सक्छ ।
छलफलमा महासंघका अध्यक्ष शाक्यसँगै वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरणकुमार स्थापित, सल्लाहकार विकास रत्न ढाक्वा र शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी थिए ।








