आन्तरिक एकता विना नेपाली काँग्रेस शक्तिशाली बन्न सक्दैन: कांग्रेस नेता साउद

काठमाडौँ । नेपाली काँग्रेसका नेता नारायणप्रकाश साउदले पार्टीभित्रका सबै पक्षबीच राजनीतिक एकता कायम नभएसम्म नेपाली काँग्रेस प्रभावकारी र शक्तिशाली बन्न नसक्ने टिप्पणी गरेका छन् ।

बिपी स्मृति दिवसका अवसरमा बुधवार काठमाडौँमा संस्थापन इतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेता साउदले पार्टीको विशेष महाधिवेशनमा सहभागी भएका र नभएका दुवै पक्षलाई भावनात्मक रूपमा एकताबद्ध बनाउनु नेतृत्वको मुख्य दायित्व भएको उल्लेख गरे । उनले संस्थापन इतर समूहमा रहेका नेता–कार्यकर्ताहरू कसैका ‘लाश र दास’ नभई नेपाली काँग्रेसको विचार र सिद्धान्तका असली भरोसा र विश्वास भएको दाबी गरे ।

मुलुकका विद्यमान चुनौतीहरूको सामना गर्न पार्टीलाई बलियो र एकताबद्ध बनाउनु अपरिहार्य रहेको चर्चा गर्दै उनले यसका लागि संस्थापन पक्षले नै अभिभावकीय भूमिका र अग्रसरता लिनुपर्नेमा जोड दिए । पार्टी निर्माणमा लामो समय योगदान दिएका, जेलनेल भोगेका र संघर्ष गरेका पुराना नेता–कार्यकर्ताहरूलाई पाखा लगाएर पार्टीको विरासत जोगाउन नसकिने उनको तर्क छ ।

उनले वि.सं. २००७ सालको क्रान्ति, पञ्चायत विरुद्धको आन्दोलन र राजतन्त्र अन्त्यका लागि काँग्रेसले खेलेको ऐतिहासिक भूमिका र बलिदानलाई बिर्सन नहुने बताए । नेतृत्वले खुला हृदयका साथ पार्टी एकताका लागि पहलकदमी नलिए नेपाली काँग्रेस इतिहासको सान्दर्भिक पार्टीका रूपमा मात्र खुम्चिने जोखिम रहेको उनले चेतावनी दिए ।

पार्टीको ऐतिहासिक गरिमा र विरासत कायम राख्न नेतृत्वले सबैलाई मिलाएर लैजाने सङ्कल्प गर्नुपर्नेमा उनको विशेष जोड छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =