कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै

कञ्चनपुर । चार वर्षदेखि जापनिज इन्सेफ्लाइटिस पुष्टि भएका बिरामी नदेखिएको कञ्चनपुरमा गत वर्ष यस रोगसँग मिल्दोजुल्दो लक्षण भएका सात जना बिरामी भेटिएका छन् । जसलगत्तै स्वास्थ्य कार्यालयले समुदायस्तरमा निगरानी र जनचेतनामूलक कार्यक्रमलाई तीव्र बनाएको छ ।

लक्षण देखिएका सात जनामध्ये केही स्थानीयवासी र केही रोजगारीका सिलसिलामा भारतबाट फर्किएका थिए । सबैको लक्षणका आधारमा उपचार गरिएको थियो । लामो समयपछि यस्ता बिरामी देखिनुले जिल्लामा जापनिज इन्सेफ्लाइटिसको जोखिम अझै कायम रहेको स्वास्थ्यकर्मीको निष्कर्ष छ ।

यद्यपि, यस वर्ष हालसम्म जिल्लामा जापनिज इन्सेफ्लाइटिसका बिरामी भेटिएका छैनन् । स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टका अनुसार विगत चार वर्षदेखि जिल्लामा जापनिज इन्सेफ्लाइटिसका पुष्टि भएका बिरामी भेटिएका थिएनन् ।

गत वर्ष सात जनामा रोगसँग मिल्दोजुल्दो लक्षण देखिएपछि जोखिमलाई मध्यनजर गर्दै रोगको निगरानी र समुदायस्तरको सचेतना अभियानलाई प्रभावकारी बनाइएको उनले बताए । उनका अनुसार स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकालाई अभिमुखीकरण गरिएको छ । रोगका लक्षण, सङ्क्रमणबाट बच्ने उपाय तथा समयमै स्वास्थ्य संस्थामा पुग्नुपर्ने विषयमा सर्वसाधारणलाई जानकारी गराउने कार्य अघि बढाइएको छ ।

जापनिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने मस्तिष्कमा असर गर्ने गम्भीर भाइरल रोग हो । यो लामखुट्टे विशेषगरी धानखेत, पानी जम्ने स्थान, फोहरले भरिएका नाली, दलदले क्षेत्र तथा सुँगुर र हाँसपालन हुने स्थानको आसपास बढी पाइन्छ । सङ्क्रमित सुँगुर वा जलचर चराको रगत चुसिसकेको लामखुट्टेले मानिसलाई टोकेपछि भाइरस सर्छ ।

“यो रोग मानिसबाट मानिसमा प्रत्यक्ष सर्दैन”, निरीक्षक भट्टले भने । भट्टका अनुसार अधिकांश सङ्क्रमितमा कुनै विशेष लक्षण नदेखिन पनि सक्छ । सङ्क्रमण गम्भीर बनेमा उच्च ज्वरो आउने, असह्य टाउको दुख्ने, बान्ता हुने, घाँटी कडा हुने, शरीरमा झट्का लाग्ने, बेहोस हुने, मानसिक अवस्था परिवर्तन हुने तथा मस्तिष्कमा सुन्निने समस्या देखिन सक्छ ।

विशेषगरी बालबालिका र वृद्धवृद्धामा यसको असर बढी गम्भीर हुने र समयमै उपचार नपाए स्थायी अपाङ्गता वा मृत्युको जोखिमसमेत रहने उनले बताए । यस रोगको भाइरस नष्ट गर्ने विशेष औषधि हालसम्म उपलब्ध नभएकाले बिरामीको अवस्थाअनुसार ज्वरो नियन्त्रण, सास फेर्न सहयोग गर्ने तथा अन्य सहायक उपचार गरिने उनले बताए ।

स्नायु प्रणालीसँग सम्बन्धित कुनै पनि असामान्य लक्षण देखिए ढिलाइ नगरी स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराउन उनले आग्रह गरे । स्वास्थ्यकर्मी प्रेम धामीका अनुसार कञ्चनपुरको कृषि प्रणाली र भौगोलिक अवस्था जापनिज इन्सेफ्लाइटिस सार्ने क्युलेक्स जातका लामखुट्टेका लागि अनुकूल छ ।

धानखेती, वर्षायाममा पानी जम्ने क्षेत्र तथा सुँगुर र हाँसपालन हुने स्थानका कारण मनसुनमा लामखुट्टेको सङ्ख्या बढ्ने र सङ्क्रमणको जोखिम पनि उच्च रहने उनले बताए । स्वास्थ्यकर्मी धामीका अनुसार रोगबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनु सबैभन्दा प्रभावकारी उपाय भएको बताउँदै झुल प्रयोग गर्ने, बिहान र साँझ पूरा शरीर ढाक्ने कपडा लगाउनुपर्छ ।

यस्तै, लामखुट्टे भगाउने औषधि प्रयोग गर्ने, घर वरिपरि पानी जम्न नदिने, पशुचौपाया राख्ने स्थान सफा राख्ने तथा सरकारले सञ्चालन गर्ने जापनिज इन्सेफ्लाइटिसविरुद्धको खोप कार्यक्रममा सहभागी हुन आग्रह गरे । सन् १९७१ मा जापानमा पहिलो पटक पहिचान गरिएकाले यस रोगको नाम जापनिज इन्सेफ्लाइटिस राखिएको हो ।

नेपालमा भने पहिलोपटक सन् १९७८ मा रूपन्देहीमा भारतबाट आएका एक व्यक्तिमा सङ्क्रमण पुष्टि भएको थियो । हाल नेपालका २४ जिल्ला यस रोगबाट प्रभावित जिल्लाका रूपमा सूचीकृत छन् भने करिब ४० जिल्लामा विभिन्न समयमा छिटपुट सङ्क्रमणका घटना सार्वजनिक भएका छन् ।

जलवायु परिवर्तन, मनसुन र लामखुट्टेको बढ्दो प्रजननका कारण कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम अझै कायम रहेको उल्लेख गर्दै औलो निरीक्षक भट्टले ज्वरोसँगै टाउको दुख्ने, बेहोस हुने वा स्नायु प्रणालीसँग सम्बन्धित असामान्य लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा पुगेर परीक्षण तथा उपचार गराउन आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − fourteen =