जिब्राल्टर र स्पेनबीचको सीमा पर्खाल हटाइयो

एजेन्सी । युरोपेली संघ (ईयू) र बेलायतबीच भएको सम्झौता प्रारम्भिक रूपमा कार्यान्वयनमा आएसँगै जिब्राल्टर र स्पेनको सीमा क्षेत्रमा रहेको काँडेतारको बार बुधवार हटाइएको छ ।
यससँगै सीमा वारपार गर्ने व्यक्ति तथा सवारी साधनका लागि गरिँदै आएको राहदानी र परिचयपत्रको नियमित जाँचको व्यवस्थासमेत अन्त्य भएको छ । जिब्राल्टर र स्पेनको ‘ला लिनिया डे ला कन्सेप्सन’ नगरपालिका जोड्ने सीमा पर्खाल हटाउन आयोजित समारोहमा स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेज सहभागी भएका थिए ।
सो अवसरमा प्रधानमन्त्री सान्चेजले यस ऐतिहासिक कदमलाई युरोपेली महाद्वीपको अन्तिम पर्खाल ढलेको रूपमा व्याख्या गर्दै यस क्षेत्रका लागि साझा समृद्धि र अवसरले भरिएको नयाँ युगको सुरुवात भएको बताए ।
सम्झौताको व्यवस्थाअनुसार स्पेनले जिब्राल्टरको बन्दरगाह र विमानस्थलमा सेन्जेन क्षेत्रको जिम्मेवारी बहन गर्नेछ । यसअन्तर्गत ईयूको वाह्य सीमा सुरक्षा र भिसा नियन्त्रणका कार्यहरू पर्दछन् । साथै, ईयू र जिब्राल्टरबीच एक भन्सार युनियनको समेत स्थापना गरिने प्रधानमन्त्री सान्चेजले जानकारी दिए ।
यस सम्झौताले जिब्राल्टर विमानस्थललाई साझा व्यवस्थापन मोडलअन्तर्गत नागरिक उड्डयनका लागि खुला गर्नेछ । यसका साथै, सीमापार कार्यरत श्रमिकहरूको सुरक्षालाई सुदृढ गर्दै उनीहरूका लागि बेरोजगारी भत्ता र पेन्सन जस्ता सुविधाहरू सुनिश्चित गरिएको छ ।
प्रधानमन्त्री सान्चेजकाअनुसार स्पेनमा कानुनी रूपमा बसोबास गर्ने कुनै पनि ईयू नागरिकले जिब्राल्टरमा बिना भेदभाव र समान सर्तमा रोजगारी प्राप्त गर्न सक्नेछन् । क्षेत्रको सामाजिक एकता र ऐक्यबद्धता प्रवर्द्धन गर्न एक सामाजिक कोषको समेत स्थापना गरिनेछ, जसले तालिम र रोजगारीका क्षेत्रमा कार्य गर्नेछ ।
भौगोलिक रूपमा आइबेरियन प्रायद्वीपको दक्षिणी छेउमा करिब ६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको जिब्राल्टर सन् १७१३ देखि बेलायती नियन्त्रणमा रहँदै आएको छ । यद्यपि स्पेनले लामो समयदेखि यस क्षेत्रमाथि आफ्नो सार्वभौमिकताको दाबी गर्दै आएको छ ।
बेलायत युरोपेली संघबाट बाहिरिएपछि (ब्रेक्जिट) जिब्राल्टरलाई ईयू–बेलायत व्यापार र सहयोग सम्झौतामा समावेश गरिएको थिएन, जसका कारण यसका लागि छुट्टै वार्ता आवश्यक भएको थियो । ईयू, बेलायत, स्पेन र जिब्राल्टरबीच मानिस र वस्तुको आवतजावत, सीमा व्यवस्थापन, कर प्रणाली र विमानस्थल सञ्चालनका विषयमा वर्षौँसम्म वार्ता चलेको थियो ।
ईयू र बेलायतले गत जुलाई १४ मा ब्रसेल्समा जिब्राल्टर सम्बन्धी यस सम्झौतामा औपचारिक हस्ताक्षर गरेका थिए । स्पेनी विदेशमन्त्री जोसे म्यानुअल अल्बारेसले यस सम्झौताले ब्रेक्जिटको पजलको अन्तिम टुक्रा पूरा गरेको टिप्पणी गर्नुभएको छ । यो अन्तरिम सम्झौतालाई स्वीकृतिका लागि यसै हिउँदमा युरोपेली संसदमा पेश गरिने कार्यक्रम रहेको छ ।








