उत्तरी गाजामा इजरायली हवाई आक्रमणः प्रहरी अधिकारीसहित सात जनाको मृत्यु

एजेन्सी । उत्तरी गाजाको एक सुरक्षा पोस्टमा मंगलबार इजरायलले गरेको हवाई आक्रमणमा परी सात प्यालेस्टिनीको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा हमासद्वारा सञ्चालित गृह प्रशासनसँग आबद्ध प्रहरी अधिकारीहरूसमेत रहेको स्थानीय स्रोत र प्रत्यक्षदर्शीले जनाएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार इजरायली ड्रोनले जबालिया शरणार्थी शिविरको पश्चिमतर्फ रहेको अल–फालुजा क्षेत्रस्थित एक सुरक्षा पोस्टलाई लक्षित गरी तीन वटा मिसाइल प्रहार गरेको थियो । उक्त आक्रमणबाट ठूलो भौतिक क्षति हुनुका साथै मानवीय हताहति भएको छ ।

सो सुरक्षा पोस्ट भीडभाडयुक्त बजार र विस्थापित मानिसहरू आश्रय लिइरहेका टेन्टहरू नजिकै अवस्थित रहेको बताइएको छ । चिकित्सा स्रोतहरूले एक महिलासहित सात जनाको मृत्यु भएको र अन्य धेरै व्यक्ति घाइते भएको पुष्टि गरेका छन् ।

प्यालेस्टिनी गृह प्रशासनले एक विज्ञप्ति जारी गर्दै मृतकहरूमध्ये जबालिया क्याम्प प्रहरी चौकीका निर्देशक मोहम्मद मारवान सालेम पनि रहेको जानकारी दिएको छ । प्रशासनले यस घटनालाई ‘नरसंहार’ को संज्ञा दिँदै तीव्र निन्दा गरेको छ। यस आक्रमणका सम्बन्धमा इजरायली सेनाले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

गाँजास्थित स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा अस्पतालहरूमा थप दुई मृत शरीर र २१ जना घाइते ल्याइएको छ । सन् २०२५ अक्टोबरमा युद्धविराम लागू भएयता मृत्यु हुनेको संख्या १,११० पुगेको छ भने ३,५९९ जना घाइते भएका छन् । मन्त्रालयको तथ्यांक अनुसार ७ अक्टोबर २०२३ देखि सुरु भएको द्वन्द्वमा हालसम्म ७३,२३३ प्यालेस्टिनीको मृत्यु भइसकेको छ भने १,७३,७०७ जना घाइते भएका छन् ।

यसैबीच, प्यालेस्टिनी वित्त तथा योजना मन्त्री स्टेफन एन्टोन सलामेले गाजाको राहत कार्यका लागि अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त प्रतिबद्धता १ अर्ब अमेरिकी डलर पुगेको जानकारी दिएका छन् । आधिकारिक रेडियो ‘भोइस अफ प्यालेस्टाइन’ सँग कुरा गर्दै मन्त्री सलामेले उक्त कोष निकट भविष्यमै गाजाका बासिन्दाहरूको सहयोग र राहतका लागि परिचालन गरिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − sixteen =