नेता कृषिकर्ममाः बाँझो जमिन हराभरा

पाल्पा । अरूलाई सिकाउँदै हिँड्ने नेता आफैँ कृषिकर्ममा लाग्न थालेपछि पाल्पाका बाँझा जमिन हराभरा हुन थालेका छन् ।

पाल्पाका नेताहरू बाँझो जग्गालाई भाडामा लिएर कृषिकर्ममा जुटेका हुन् । मुलुकको आर्थिक रुपान्तरण युद्धबाट होइन, कृषि क्रान्तिबाट मात्र सम्भव रहेको ठहर गर्दै उत्पादनमा लागेका हुन् ।

पाल्पाका मिन सी, सुकुमार सीलगायत नेता राजनीतिक गतिविधिसँगै व्यावसायिक कृषि उत्पादनमा सक्रिय छन् । उनीहरू विगत तीन वर्षदेखि धान, गहुँ, आलु खेतीमा लागेका हुन् ।

किसानलाई उत्पादनमा प्रेरित गर्ने र कृषि आयातलाई न्यूनीकरण गर्ने उद्देश्यसहित पाल्पामा ८० रोपनी जग्गा भाडामा लिएका छन् । त्यही जग्गामा उनीहरूले धान, गहुँ र आलु लगाउने गरेका हुन् ।

प्रायः औपचारिक कार्यक्रमका भाषण र आन्दोलनका अग्रमोर्चामा देखिने सीहरु अहिले हातमा कोदाली लिएर खेतमा हिलोसँगै रमाएको देख्न सकिन्छ ।

सुकुमार सीले उत्पादनविना राजनीति गर्नु भनेको भ्रष्टाचार गर्नुसरह भएको भन्दै उत्पादनतर्फ लागेको बताए ।

सीले भने, ‘नेता आत्मनिर्भर भए कसैसँग चन्दा उठाउन नपर्ने हुन्छ ।’ मुलुक कृषि प्रधान देश भए पनि कृषिमा आत्मनिर्भर हुन नसकेको उनको भनाइ छ । ‘चन्दा उठाएर होइन, काम गरेर खानुपर्छ’, सीले भने । गत वर्ष १५० मुरी धान, ६० मुरी गहुँ र २० क्विन्टल आलु, उत्पादन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 4 =