प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ प्रक्रिया सुरु

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनुवाइ प्रक्रिया सुरु गरेको छ ।

बिहीबार बसेको समितिको बैठकले नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा सुनुवाइ प्रक्रिया अगाडि बढाएको हो ।

संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्तमा डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेको नाम सिफारिस गरेको छ ।

प्रस्तावित तीनै जना विरुद्ध समितिले १० दिन समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको छ । समिति सभापति वोधनारायण श्रेष्ठले साउन ४ गतेसम्म उजुरी दिनको लागि समय दिने बताए ।

उनकाअनुसार साउन ५ गते उजुरी खोल्ने र दुई दिन साउन ५ र ६ गते उजुरीको अध्ययन गरेर ७ गते पहिलो सुनुवाइ गर्ने तयारी छ । उजुरी धेरै परेको अवस्थामा अध्ययन गर्ने समय थप हुन सक्ने उनले बताए । समितिले उजुरी आह्वानको लागि सरकारी सञ्चारमाध्यम र संघिय संसद्को विद्युतीय पेजमा सूचना प्रकाशन गर्न समिति सचिवलाई निर्देशन दिएको छ ।

उनले भने ‘साउन ४ गते उजुरी आह्वानको १० दिन पुग्छ, ५ गते उजुरी खोलेर ५ र ६ गते दुई दिन हामी उजुरी अध्ययन गर्छौँ । ७ गते पहिलो सुनुवाइ थाल्नेछौँ । अब उजुरीहरू धेरै आयो भने त्यही अनुसार अध्ययनको समय थप्छौँ, त्यो अर्को बैठकमा निर्णय गर्छौँ । तर मोटामोटि तालिकाको हिसाबले ७ गते पहिलो सुनावाई गर्छौँ ।’

उनले संसदीय सुनुवाइ प्रक्रियालाई व्यवस्थित बनाउन स्ट्यान्डर्स टुल्स बनाउने जानकारी दिए । उजुरीको छलफलको क्रममा उजुरीकर्ताले कानून व्यवसायी लैजान नपाउने भएका छन् । उजुरीकर्ता आफैले उजुरीको बारेमा ब्रिफिङ गर्नुपर्ने भएको छ । असक्त वा अपाङ्गता भएका व्यक्तिले भने एक जना सहयोगी लैजान पाउने समितिका सभापति श्रेष्ठले जानकारी दिए ।

प्राप्त उजुरीउपर छलफल गरेर सुनुवाइ समितिले प्रस्तावित नाम अनुमोदन गरेपछि नियुक्त हुने संवैधानिक व्यवस्था छ । असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको नाम सुनुवाइको लागी सिफारिस गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 8 =