सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ: वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले संसदीय सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनुवाइ सम्बन्धी छलफल गर्न बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा उनले आगामी सुनुवाइलाई प्रक्रियासम्मत ढंगले सञ्चालन गर्नुपर्ने बताएका हुन् ।

उनले सुनुवाइका लागि उजुरी दिने समयभन्दा पनि प्रक्रिया, पारदर्शिता र गुणस्तरीय छलफल महत्त्वपूर्ण हुने बताए । उनले प्रस्तावित पदाधिकारीहरूको योग्यता, क्षमता, कार्ययोजना र प्रतिबद्धताबारे नागरिकले स्पष्ट रूपमा जानकारी पाउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । सार्वजनिक रूपमा व्यक्त गरिएका प्रतिवद्धताले सम्बन्धित पदाधिकारीलाई भविष्यमा थप जिम्मेवार बनाउने उनको भनाई छ ।

उनले भने ‘आगामी सुनुवाईहरुलाई व्यवस्थित गरेर लैजाऊँ, प्रभावकारी बनाऔँ । हतारोमा नगरौँ, तर सुनुवाइ गर्दा एउटा प्रक्रियासम्मत ढंगले, पारदर्शी ढंगले गर्नुपर्छ । मैले यो भन्दा अगाडि पनि भने बहुमत प्राप्त दलको संसदीय नेता प्रधानमन्त्री, प्रमुख प्रतिपक्ष दलका नेता, राज्यका ३ अङ्गका प्रमुखहरू भएको एउटा विशिष्ट नेतृत्वले गरेको निर्णयलाई हामीले सुनुवाइ गर्दैछौँ । हाम्रो नयाँ अभ्यास पनि हो नेपालको हकमा, यो अभ्यासलाई एक–दुई पटक राम्रोसँग अभ्यास गरिएको पनि छ । फिर्ता गर्ने, अस्वीकृत गर्ने काम पनि भएको छ । हाम्रो अपेक्षा राम्रो मान्छेहरू प्रस्तावित हुनुहुन्छ, उहाँहरूको बारेमा देशले थाहा पाओस्, जनताले थाहा पाओस्, दुनियाँले थाहा पाओस् र स्वयम् उहाँहरूलाई पनि आफ्ना प्रतिवद्धताहरु जो योजना, कार्ययोजना छ त्यो अनुसारको चाहिँ काम गर्दा एक खालको मोरल सपोर्ट पनि होस् र उहाँहरू पनि एउटा घेरा भित्र चाहिँ मैले यति प्रतिबद्धता गरेर यहाँ आएको छु भन्ने जिम्मेवार पनि बनाइराखोस्, त्यो खालको एक खालको माध्यम हामी हौँ । आम जनस्तरबाट आउने जिज्ञासाहरू, चासोहरू, प्रश्नहरू हामीले यो समिति मार्फत उहाँहरूसँग राख्ने विषय हो । त्यसको लागी छलफललाई प्रभावकारी बनाऊँ । पहिला पब्लिक कल गरौँ, त्यसपछि विषयको गम्भीरता जिज्ञासाहरू, प्रश्नहरू या उजुरीहरू कसरी आउँछन्, त्यसलाई हेरेर अलग–अलग सुनुवाइ गर्दा प्रभावकारी हुन्छ ।’

उनले अमेरिकालगायतका मुलुकमा हुने संसदीय सुनुवाइको उदाहरण दिँदै योग्य उम्मेदवारको क्षमता र प्रतिबद्धता सार्वजनिक रूपमा परीक्षण हुने अभ्यासबाट नेपालले पनि सिक्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =