सुनुवाइ समिति निकम्मा बन्नु हुँदैन, योग्य व्यक्तिलाई मात्रै अनुमोदन गर्नुपर्छ: काँग्रेस

काठमाडौँ । नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले संसदीय सुनुवाइ समितिले सुनुवाइका लागी प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा विस्तृत अध्ययन र परीक्षणपछि मात्रै निर्णय गर्नुपर्ने बताएका छन् ।

प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनुवाइ सम्बन्धी छलफल गर्न बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले विगतमा समितिले प्रधानन्यायाधीश सिफारिस भएको व्यक्तिलाई नै अयोग्य ठहर गरी अस्वीकार गरेको गर्दै सिफारिस भएका सबैलाई अनुमोदन गर्न आवश्यक नरहेको बताए । संवैधानिक परिषद्ले निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्तमा योग्य व्यक्ति भनेर सिफारिस गरेको भएपनि समितिले आफ्नो संवैधानिक दायित्वअनुसार विस्तृत अध्ययन र परीक्षणपछि मात्रै निर्णय गर्नुपर्ने उनको भनाई छ । सुनुवाइ समिति निकम्मा नभएको उल्लेख गर्दै उनले गलत व्यक्तिलाई अस्वीकार गर्न सक्ने क्षमता राख्नुपर्ने बताए ।

उनले भने ‘हामीले समितिमा आएका नामलाई स्वीकृति पनि गरेका छौँ, अस्वीकृत पनि गरेका छौँ । यो सुनुवाइ समिति निकम्मा भएको छैन । यसले गलत मान्छेलाई अस्वीकार गरेको छ, प्रधान न्यायाधीश जस्तो सिफारिस भएको मान्छेलाई पनि तपाईँको पास गरेको छैन, स्वीकृति गरेको छैन । त्यसैले अहिले हामीले निर्वाचन आयोगको आयुक्त र प्रमुख आयुक्त बनाउँदै गर्दाखेरि पनि राम्रो मान्छे, असल मान्छे लाई मात्रै अनुमोदन गर्नुपर्छ । सरकारले राम्रै मान्छे भनेर सिफारिस गरेको होला, सर्वोच्चमा काम गर्नुहुन्थ्यो रे, अध्ययन गर्न त बाँकी नै छ, राम्रै मान्छे हुनुहोला । तरपनि हामीले यो सुनुवाइको नि प्रावधान राखिसकेपछि असल मान्छेको बारेमा पनि हामीले जानकारी राख्नुपर्छ, सुनुवाइ समिति मार्फत हामीले जनतालाई आश्वस्त गराउनुपर्छ कि यस्ता व्यक्तिहरू आएका छन् ।’

उनले सुनुवाइका लागि समितिको कार्यविधिअनुसार नै उजुरी संकलन, त्यसमाथि छलफल, उम्मेदवारसँग कार्ययोजना माग्ने तथा त्यसको मूल्याङ्कन गर्ने कार्य गर्नुपर्ने बताए । उनले हतार हतारमा अनुमोदन गर्ने कार्य गर्न नहुनेमा जोड दिए ।

कार्यविधि र कानुनी प्रक्रियाको पालना गरेमा समितिप्रति जनविश्वास बढ्ने उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 20 =