झलनाथ खनालको प्रश्न- महाकाली सन्धीले हामीलाई के दियो ?

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पुर्वप्रधानमन्त्री झलनाथ खनालले महाकाली सन्धी गर्नु गलत भएको बताएका छन् ।

मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले महाकाली सन्धीबाट नेपालले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको बताए । महाकाली सन्धीले बदनाम बाहेक केही नदिएको उनको टिप्पणी छ । उनले महाकाली र एमसीसी सम्झौताको उपलब्धि शून्य रहेको उल्लेख गरे ।

उनले मदन भण्डारीको सक्रियता कारण टनकपुर सम्झौता रोकिएको स्मरण गर्दै भण्डारीले अघि सारेको राष्ट्रियताको धारलाई निरन्तरता दिन नसकेको कारण महाकाली सन्धी हुन पुगेको बताए ।

उनले भने ‘मदन भण्डारी असाध्यै देशभक्त हुनुहुन्थ्यो । यदि उहाँ संसदमा नभएको भए टनकपुर सम्झौता गरिएको थियो, त्यो गलत सम्झौता गर्नेहरूलाई घुँडा टेकाउन सम्भव थिएन । आठ/आठ घण्टा संसदमा उभिएर हामीले सङ्घर्ष गरेका छौँ । उहाँले जुन प्रकारको देशभक्तिको भावनालाई अगाडी ल्याउनुभएको थियो, त्यही कुरालाई जारी गरेको भए हामी महाकाली सन्धी गर्ने थिएनौँ । के दियो महाकाली सन्धीले हामीलाई रु शून्य । बदनाम बाहेक केही पनि दिएन । एमसीसी सम्झौताले हामीलाई के दियो रु अब एसपीपी, अब बेल हेलिकप्टर आउँदैछ । हामीले हिजो हिँड्दै गर्दाखेरि ठिक ठाउँमा पाइला टेकेनौँ । यो कुरालाई अत्यन्त शालीनतापूर्वक, विना उत्तेजना हामीले समीक्षा गर्नुपर्छ । त्यो समीक्षाबाट निस्किने निष्कर्ष हाम्रो लागी गाइडलाइन हुनेछ ।’

उनले वर्तमान सरकारले राष्ट्रिय हितलाई कमजोर बनाउने नीति अवलम्बन गरेको आरोप पनि लगाए । सरकारका नीति तथा कार्यक्रमले किसान, श्रमिक र श्रमिकहरूको ट्रेड युनियन अधिकारलाई सम्बोधन नगरेको उनको दाबी छ ।

विद्यार्थी संगठनका अधिकारमा समेत हस्तक्षेप भइरहेको उनले बताए । निजी सञ्चारमाध्यमलाई उपलब्ध गराइँदै आएको सहुलियत र सरकारी विज्ञापन कटौती गरिएको उल्लेख गर्दै उनले त्यसको प्रत्यक्ष असर पत्रकारिता क्षेत्रमा परेको बताए ।

यसले सञ्चार क्षेत्र कमजोर बन्ने र ठूलो संख्यामा पत्रकार बेरोजगार हुने जोखिम बढाएको उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 11 =