वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुन्छ: प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (नेकपा) का संयोजक पुष्पकमल दाहालले नेपालको कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने षड्यन्त्र भइरहेको भन्दै वामपन्थी र देशभक्तहरू एकताबद्ध हुन ढिला गर्न नहुने टिप्पणी गरेका छन् ।

जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो टिप्पणी गरेका हुन् ।

उनले देशको राजनीतिक घटनाक्रम गत भदौ २४ गतेपछि प्रतिक्रियावादी दिशामा अघि बढिरहेको भन्दै यसका विरुद्ध वामपन्थी र देशभक्तहरू एकताबद्ध हुन ढिला गरे गम्भीर गल्ती हुने बताए ।

उनले राष्ट्रिय स्वाधीनता निकै ठूलो संवेदनशीलता र संकटमा परेको भन्दै निर्वाचन पनि त्यही प्रक्रियाको एउटा कडीको रूपमा प्रस्तुत भएको बताए । उनले सरकारले संविधानका आधारभूत मूल्य मान्यतामाथि प्रहार गर्दै पीडित वर्ग, मजदुर, किसान र उत्पीडित समुदायमाथि अन्याय गरिरहेको आरोप पनि लगाए ।

उनले भने ‘देशको राजनीतिक घटनाक्रम भदौ २४ गते यता प्रतिक्रान्तिकारी घटनाक्रमको रूपमा अगाडि बढिरहेको छ । राष्ट्रिय स्वाधीनता निकै ठूलो संवेदनशीलता र संकटमा परेको महसुस हुँदै गएको छ । अहिले निर्वाचन पनि त्यही प्रक्रियाको एउटा कडीको रूपमा प्रस्तुत भइरहेको छ ।

सरकार संविधानका आधारभूत कुराहरूमाथि प्रहार गर्ने, सबै पीडित वर्ग समुदाय मजदुर किसानदेखि सबै उत्पीडित जाति समुदायमाथि प्रहार गर्ने र संविधानका आधारभूत मान्यताहरूमाथि प्रहार गर्न उद्यत भएको देखिँदै गएको छ । यी सबै कुराको लक्ष्य कम्युनिष्ट आन्दोलनलाई के गरी सिद्ध्याउने ? भन्नेमा केन्द्रित छ ।

दक्षिण एसियामा र हाम्रो छिमेकी भारतमा कम्युनिस्टहरू सिद्ध्याइयो भनेर घोषणा गरेको तपाईँ हामीले सुनेका छौँ । र यो नेपाल जस्तो देशमा कम्युनिष्ट आन्दोलनको जबरदस्त प्रभावलाई के गरी सिद्ध्याउन सकिन्छ भन्ने कुरामा दुनियाँ भरका प्रतिक्रियावादीहरू लागिराख्या छन् ।

त्यही षड्यन्त्रको एउटा परिणतिको रूपमा २४ भयो, चुनाव भयो, अहिले हुँदैछ भन्ने कुरा पनि तपाईँ हामीले देखिराखेकै छौँ । यो परिस्थितिमा हामीले ढिलो नगरीकन राष्ट्रिय स्वाधीनताका पक्षमा, निरंकुशताका विरुद्ध, फासीवादका विरुद्ध, वैदेशिक दबाब हस्तक्षेपका विरुद्ध छिटो भन्दा छिटो वामपन्थी र देशभक्तहरू एक हुनुपर्छ । यसलाई ढिला गर्नु गल्ती हुन्छ ।’

उनले आफूले कम्युनिष्ट एकताका लागि हतारो नगरेको भन्दै दलहरूभित्र समीक्षा गरेर मात्र एकताको प्रक्रियामा जानुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − six =