आर्थिक विधेयक २०८३ः पुँजीगत खर्च र करका दरबारे सांसदहरूको ध्यानाकर्षण

काठमाडौँ । सांसदहरूले बजेटको प्रभावकारी कार्यान्वयन, पुँजीगत खर्चको न्यून अवस्था र प्रस्तावित करका दरहरूका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा ‘आर्थिक विधेयक, २०८३’ माथिको छलफलमा भाग लिँदै छलफलका क्रममा विभिन्न राजनीतिक दलका सांसदहरूले विकास निर्माणका कामलाई गति दिन र कर प्रणालीलाई न्यायसङ्गत बनाउन सुझाव दिएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले पुँजीगत खर्चको न्यून अवस्थाप्रति चिन्ता व्यक्त गरे । कुल बजेटको सानो हिस्सा मात्र पुँजीगत खर्चका लागि विनियोजन हुने र त्यसमा पनि हालसम्म ३५ प्रतिशत मात्र खर्च भएको तथ्याङ्क प्रस्तुत गर्दै उनले असारको अन्तिममा आएर काम गर्ने प्रवृत्तिले विकासको गुणस्तर कमजोर हुने बताए ।

सांसद गजुरेलले अर्थ मन्त्रालयले हरेक मन्त्रालय र निकायसँग समन्वय गरी आयोजनाहरूको प्रगति ट्रयाकिङ गर्न ‘ड्यासबोर्ड’ निर्माण गर्नुपर्ने र समयमै टेन्डर प्रक्रिया सम्पन्न गर्ने गरी कार्ययोजना ल्याउनुपर्नेमा जोड दिए ।

नेपाली कम्युनिष्ट पार्टीकी सांसद पार्वती वि.क.ले बजेटको ठुलो हिस्सा चालु खर्च र ऋणको साँवा–ब्याज भुक्तानीमा केन्द्रित भएको भन्दै विकास निर्माणका लागि विनियोजित बजेट अपर्याप्त रहेको बताइन् ।

उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ‘साम्यता शुल्क’ सम्बन्धी करको विरोध गर्दै उक्त बुँदाहरू हटाउन संशोधन प्रस्ताव पेस गरिन् । सरकारी र निजी शैक्षिक संस्था तथा स्वास्थ्य संस्थाबीचको खाडल कम गर्नुपर्नेमा जोड दिँदै उनले विपन्न नागरिकको सेवामा पहुँच पुर्याउन सरकारले आँट गर्नुपर्ने बताइन् ।

नेकपा (एमाले) का सांसद डा. पुष्पराज कँडेलले आर्थिक विधेयकका विभिन्न दफाहरूमा संशोधनको आवश्यकता औँल्याए । उनले आन्दोलनका क्रममा निजी क्षेत्रले व्यहोरेको क्षतिमा ५० प्रतिशत मात्र भन्सार छुट दिने प्रस्तावलाई परिमार्जन गरी शतप्रतिशत बनाउनुपर्ने माग गरे ।

नयाँ कर लगाउने अधिकार संसद्मा सुरक्षित हुनुपर्ने र कार्यपालिकाले एकलौटी ढंगले करका दरहरू हेरफेर गर्न नहुने उनको तर्क थियो । सांसद कँडेलले मूल्य अभिवृद्धि कर (भ्याट) को बहुदर प्रणालीमा जानुअघि पर्याप्त अध्ययन आवश्यक रहेको र उच्च आय भएका वर्गलाई सीमान्त करमा दिइएको छुट प्रगतिशील कर प्रणालीको सिद्धान्त विपरीत भएको बताए ।

साथै उनले बाह्य ऋण अनुमोदनको प्रक्रिया र राजश्वका केही प्राविधिक विषयमा सरकारसँग स्पष्टीकरण माग गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =