शिक्षामा लगाएको समता करले भुईमान्छेलाई छुँदैन: अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षामा प्रस्ताव गरिएको समता करले गरिब तथा भुईमान्छे वर्गलाई कुनै असर नपर्ने बताएका छन् ।
आइतबार प्रतिनिधिसभा आर्थिक विधेयक, २०८३ माथि छलफलमा क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
उनले नेपालका करिब ८० प्रतिशत बालबालिका गैरनिजी विद्यालयमा अध्ययन गर्ने भएकाले उनीहरूलाई यो कर नलाग्ने स्पष्ट पारे । केही निजी विद्यालयमा मात्र समता शुल्क प्रस्ताव गरिएको उल्लेख गर्दै उनले त्यहाँ मासिक १० हजार रुपैयाँ शुल्क तिर्ने अभिभावकले करिब ३ सय रुपैयाँ अर्थात् ३ प्रतिशत योगदान गर्ने व्यवस्था गरिएको बताए ।
उक्त रकम सार्वजनिक शिक्षाको गुणस्तर सुधार तथा भुईमान्छे, सीमान्तकृत, दलित र न्यून आय भएका समुदायका बालबालिकाको शैक्षिक पहुँच र अवसर विस्तारका लागि खर्च गरिने उनले जानकारी दिए । उनकाअनुसार साना–साना योगदान संकलन गरेर सार्वजनिक शिक्षाको उन्नयन गर्ने उद्देश्यसहित समतामूलक नीति अघि सारिएको हो ।
समता करको विरोध भइरहेकोप्रति आश्चर्य व्यक्त गर्दै अर्थमन्त्री वाग्लेले यस्तो नीति विशेषगरी समानता र सामाजिक न्यायको पक्षमा बोल्ने राजनीतिक दल तथा सांसदहरूले स्वागत गर्नुपर्ने बताए ।
उनले भने ‘शिक्षामा लगाएको समता करले गरिब र भुईमान्छेलाई छुँदैन । नेपालमा झण्डै ८० प्रतिशत बालबालिकाहरू गैरनिजी विद्यालयमा पढ्छन्, त्यहाँ यो करको प्रस्ताव गरिएको होइन । केही निजी विद्यालयहरूमा समता शुल्क लगाएको हो, त्यहाँबाट करिब १० हजार खर्च गर्ने मानिसले करिब ३ सय रुपैयाँजति योगदान गर्ने हो । आफ्नो बालबालिकाको लागी १० हजार रुपैयाँ खर्च गरेको छ भने त्यसबाट ३ सय रुपैयाँ, ३ प्रतिशत भनेको त्यति हो । त्यो ३ प्रतिशत यता हाम्रो झण्डै तीन चौथाई बालबालिकाहरू भुँईमान्छे, सीमान्तकृत समुदाय, दलित समुदाय, गरिब निम्न आय भएका नेपालीहरूलाई राहत पुर्याउनको लागी थोपा थोपा संकलन गरेर त्यो रकम सार्वजनिक शिक्षाको उन्नयनको लागी खर्च गर्ने भनेर समतामूलक नीति लिएको हो । नेपालका वामपन्थी राजनीति गर्दै आउनुभएका धेरै सांसदहरूले जयजयकार गर्नुपर्ने खालको नीति ल्याउँदा पनि यसको भिषन विरोध भएको देख्दाखेरि अचम्म परको छु ।’
उनले मध्यम वर्गमा समता करको असर पर्न नदिन व्यक्तिगत आयकरमा छुट दिएको बताए । उनले स्वास्थ्य क्षेत्रमा लगाएको समता कर पनि सोही अनुसार भएको बताए । स्वास्थ्य समता कर मार्फत उठेको रकम स्वास्थ्य क्षेत्रको सुधार गर्ने बताए । उनले समता कर भुईँमान्छे र गरिबको लागी नै ल्याएको बताए ।
कर लगाएर राजश्व संकलन नगरेमा देश नबन्ने उनको भनाई छ ।









