फिफा विश्वकप २०२६

विश्वकपमा आइतबार समूह ‘जे’, ‘के’ र ‘एल’ को अन्तिम खेलहरू हुँदै

आइतबार बिहान हुने यी ६ खेलसँगै समूह ‘जे’, ‘के’ र ‘एल’ बाट नकआउट चरणमा पुग्ने अन्तिम टोलीहरूको टुंगो लाग्ने छ

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’, ‘के’ र ‘एल’ का अन्तिम समुहगत खेलहरू नेपाली समयअनुसार आइतबार बिहान हुँदैछन्। यी खेलसँगै तीनवटै समूहबाट नकआउट चरणमा पुग्ने र प्रतियोगिता बाट टोलीहरूको टुंगो लाग्नेछ।

समूह ‘जे’ मा शीर्ष स्थानमा रहेको अर्जेन्टिनाले अंकविहीन जोर्डनसँग बिहान ७:४५ बजे प्रतिस्पर्धा गर्नेछ। दुई खेलबाट ६ अंक जोडिसकेको अर्जेन्टिना यसअघि नै नकआउट चरणमा पुगिसकेको छ। यही समूहको अर्को खेलमा समान ३–३ अंक भएका अल्जेरिया र अस्ट्रियाबीच बिहान ७:४५ बजे नै प्रतिस्पर्धा हुनेछ। यस खेलको विजेता नकआउट चरणमा पुग्ने सम्भावना बलियो हुनेछ भने बराबरी भएमा गोलअन्तरको हिसाब निर्णायक बन्न सक्छ।

समूह ‘के’ मा शीर्ष स्थानमा रहेको कोलम्बियाले दोस्रो स्थानको पोर्चुगलसँग बिहान ५:१५ बजे खेल्नेछ। कोलम्बियाको ६ तथा पोर्चुगलको ४ अंक रहेको छ। पोर्चुगललाई नकआउट यात्रा सुनिश्चित गर्न कम्तीमा बराबरी आवश्यक हुनेछ। यही समूहको अर्को खेलमा डिआर कङ्गो र उज्बेकिस्तान बिहान ५:१५ बजे आमनेसामने हुनेछन्। एक अंक रहेको डिआर कङ्गोले नकआउट सम्भावना जीवित राख्न जित्नै पर्ने अवस्था छ भने अंकविहीन उज्बेकिस्तान सान्त्वना जितको खोजीमा हुनेछ।

समूह ‘एल’ मा प्रतिस्पर्धा झन् रोचक बनेको छ। शीर्ष दुई स्थानमा रहेका इङ्ग्ल्यान्ड र घानाको समान ४–४ अंक छ भने तेस्रो स्थानको क्रोएसियाको ३ अंक रहेको छ। अंकविहीन पानामा भने प्रतियोगिताबाट बाहिरिसकेको छ। बिहान २:४५ बजे हुने खेलमा इङ्ग्ल्यान्डले पानामाको सामना गर्नेछ भने घानाले क्रोएसियासँग खेल्नेछ। इङ्ग्ल्यान्ड र घाना दुवैले बराबरी खेले पनि नकआउट चरणमा पुग्नेछन्। तर क्रोएसियाले घानालाई पराजित गर्न सके समूहको समीकरण पूर्ण रूपमा बदलिन सक्छ।

आइतबार बिहान हुने यी ६ खेलसँगै समूह ‘जे’, ‘के’ र ‘एल’ बाट नकआउट चरणमा पुग्ने अन्तिम टोलीहरूको टुंगो लाग्ने छ, साथै समूह चरणका सबै खेलहरु सकिने छन्। यसपछि पहिलो नकआउट चरण अर्थात् “Round of 32” का खेलहरु संचालन हुनेछन्।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =