‘तीन तिघ्रे क्या बिग्रे’ मा समिया अनुबन्ध

काठमाडौँ । दर्जनौँ म्युजिक भिडियोमा मोडलिङ गर्दै आएकी तथा टेलिचलचित्र ‘सीता’ मार्फत आफ्नो अभिनय क्षमता प्रस्तुत गरेकी कलाकार समिया कार्की नयाँ चलचित्रमा अनुबन्धित भएकी छन् ।
रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘तीन तिघ्रे क्या बिग्रे’ मा उनी मुख्य भूमिकाका लागि अनुबन्धित भएकी हुन् ।
टेलिचलचित्र ‘सीता’ मा सीताको नन्दको भूमिकामा देखिएकी समियाको यो पहिलो चलचित्र हो । पहिलो चलचित्रमै मुख्य भूमिकामा अभिनय गर्ने अवसर पाएकी उनी निकै उत्साहित देखिएकी छन् । नयाँ टिम र अनुभवी कलाकारहरूसँग काम गर्ने अवसर पाउनु आफ्नो लागि खुसीको विषय भएको उनले बताइन् ।
चलचित्रमा चर्चित गायक पशुपति शर्मा तथा गायिका अन्जु पन्तकी छोरी परितोषिका पन्त पनि मुख्य भूमिकामा देखिनेछन् । यी दुवै कलाकारका लागि पनि यो डेब्यु चलचित्र हुनेछ ।
कमेडी जनरामा निर्माण हुन लागेको यस चलचित्रले मनोरञ्जनको भरपूर स्वाद दर्शकमाझ पस्किने निर्देशक अमरदीप सापकोटाले बताए । उनका अनुसार चलचित्रलाई हास्य, मनोरञ्जन र समसामयिक विषयवस्तुको संयोजनसहित प्रस्तुत गरिनेछ ।









