रास्वपा महाधिवेशनमा खाना: बिहान खसीको मासु–भातदेखि १० परिकारसम्म

४१ सय प्रतिनिधिका लागि दैनिक ८ क्विन्टल खसीको मासु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा जारी छ । हिजोदेखि सुरु भएको पहिलो महाधिवेशनको बन्दसत्र आजदेखि सुरु हुँदैछ ।

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने बन्दसत्रमा देशभरका जिल्ला, प्रवास तथा विभिन्न तहका समितिबाट आएका करिब ४१ सय प्रतिनिधिको सहभागिता रहेको छ ।

प्रतिनिधिहरूले आफ्नै व्यवस्थापनमा होटलमा बसोबास गरे पनि खानपानको व्यवस्थापन भने आज बिहानदेखि पार्टीले सुरु गरेको छ ।

महाधिवेशनस्थलमा बिहान ७ बजेदेखि ब्रेकफास्ट वितरण सुरु गरिएको छ । प्रतिनिधिहरूलाई बिहानको नास्ता, दिउँसोको खाना, हाइटी तथा बेलुकाको खानाको व्यवस्था गरिएको रास्वपाले जनाएको छ ।

आयोजकका अनुसार प्रतिनिधिहरूलाई बिहान खसीको मासुसहित भात खुवाइनेछ । करिब ४१ सय प्रतिनिधि तथा अन्य सहभागीका लागि बिहानको खानामा मात्रै दैनिक झण्डै ८ क्विन्टल खसीको मासु आवश्यक पर्ने अनुमान गरिएको छ । बेलुकाको खानामा भने मिक्स भेज तरकारी समावेश गरिनेछ ।

तीन दिनसम्मको खानपान व्यवस्थापनको जिम्मेवारी दियालो फुडल्याण्ड, क्षेत्रपुर नारायणगढले लिएको छ । बिहान र बेलुकाको खानामा कम्तीमा १० प्रकारका परिकार राखिने जनाइएको छ । मासु नखाने सहभागीका लागि पनिर, च्याउ तथा सिजनल तरकारीको छुट्टै व्यवस्था गरिएको छ ।

दियालो फुडल्याण्डका प्रबन्ध निर्देशक रमेश अधिकारीका अनुसार बिहान ७ बजेदेखि ब्रेकफास्ट, दिउँसो १ बजेदेखि २ः३० बजेसम्म खाना, ३ बजेदेखि ५ बजेसम्म हाइटी तथा बेलुका ६ बजेदेखि ९ बजेसम्म रात्रीभोजको तालिका तय गरिएको छ ।

चितवनको गर्मीलाई ध्यानमा राख्दै खाद्य सुरक्षामा विशेष सावधानी अपनाइएको अधिकारीले बताए । उनका अनुसार खाना तथा खाजा व्यवस्थापनका लागि करिब २ सय कर्मचारी तथा कामदार परिचालन गरिएको छ ।

महाधिवेशनस्थलमै खाना पकाउने र वितरण गर्ने व्यवस्था मिलाइएको छ । करिब ५ हजार जनाका लागि लाइभ कुकिङ गरेर सोही स्थलमा भोजन गराउने तयारी गरिएको छ, जुन चितवनमा पहिलोपटक भएको दाबी आयोजक पक्षले गरेको छ ।

खाना तथा ब्रेकफास्ट वितरणका लागि १५ वटा टेबल स्टल राखिएका छन् । सहभागीले दुवैतर्फबाट सेवा लिन सक्ने व्यवस्था गरिएको छ । जिरा राइस, दाल, तरकारी, अचार, सलाद, दहीलगायतका परिकार मेनुमा समावेश गरिएको छ ।

प्रतिनिधिहरूलाई खानाका लागि कुपन उपलब्ध गराइएको छ । रास्वपाले प्रत्येक प्रतिनिधिबाट ५ हजार रुपैयाँ महाधिवेशन शुल्क संकलन गरेको छ भने बसोबासको खर्च भने प्रतिनिधिहरूले आफैंले व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 12 =