हेटौँडाका उपभोक्तालाई दैनिक तीन करोड ७५ लाख लिटर पिउने पानी वितरण

मकवानपुर । हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले हेटौँडा उपमहापालिकाका विभिन्न वडाका उपभोक्तालाई दैनिक तीन करोड ७५ लाख लिटर प्रशोधित पिउने पानी वितरण गर्दै आएको छ ।

हेटौँडा उपमहापालिकामा वडा नम्बर १२ र १३ बाहेक वडा नम्बर १ देखि १९ का करिब एक लाख ७२ हजार बासिन्दालाई स्वच्छ पिउने पानी दैनिक सरदर १० घण्टा वितरण गर्दै आएको हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका सूचना अधिकारी सञ्जय न्यौपानेले बताए । उनले हेटौँडा नगरका विभिन्न वडाका प्रत्येक टोलमा आजसम्म २९ हजार ८०३ धारा जडान गरिएको जानकारी दिए ।

हेटौँडा उपमहापालिका–२ स्थित बुङदल खोलाको पानी, ४० डिपट्युबवेल र १९ समवेलबाट दैनिक तीन करोड ७५ लाख लिटर पिउने पानी सङ्कलन गरिँदै आएको खानेपानी बोर्डका सूचना अधिकारी न्यौपानेले बताए ।

यसैगरी, सो बोर्डले हेटौँडा–१४ मा डिपट्युबवेल, दुई लाख लिटर क्षमताको पानी ट्याङ्की निर्माण र मेनलाइन शाखा पाइप विस्तार कार्य सम्पन्न गरेको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र हेटौँडा खानेपानी व्यवस्थापन बोर्डको संयुक्त आयोजनामा हेटौँडा–१६ शक्तिमा ६ वटा ९ सय घनमिटर क्षमताका समवेल निर्माण तथा करिब साढे तीन किलोमिटर पाइपलाइन विस्तार गर्ने कार्य सम्पन्न गरिएको हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका प्रमुख विष्णुप्रसाद सापकोटाले जानकारी दिए ।

यसैगरी हेटौँडा–१५ को सानो सुकौलीमा बोर्डले एक लाख लिटर क्षमताको पानी ट्याङ्की र वडा नम्बर १६ मा शौचालय निर्माण गरेको छ । हेटौँडा खानेपानी व्यवस्थापन बोर्ड र खानेपानी तथा सरसफाइ डिभिजन–१ को संयुक्त लगानीमा हेटौँडा–११ थाना भ¥याङको सिमलटार क्षेत्रमा हाल दुई समवेल, चार लाख ५० हजार लिटर क्षमताको ओभरहेड पानी ट्याङ्की तथा भवन निर्माण गरिएको प्रमुख सापकोटाले बताए ।

हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले आफ्नो परिसरभित्र अत्याधुनिक पानी परीक्षण प्रयोगशाला हालै सञ्चालनमा ल्याएको छ । बोर्डले पानी सङ्कलन गर्ने कार्यमा प्रयोग गर्ने उद्देश्यले विभिन्न साइजका मोटर पम्पसेट खरिद गरेको जनाएको छ ।

साथै हेटौँडा–१२ र १३ का स्थानीय उपभोक्ताले आफ्नै लगानीमा छुट्टाछुट्टै खानेपानी ट्याङ्की निर्माण गरेर पाइप विस्तार गरी प्रत्येक घरमा खानेपानीको धारा जडान गरेको हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 11 =