ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

बनियानी ।  झापाको कनकाई नगरपालिका–५ तुलसीबारीस्थित भित्री सडकखण्डमा आज भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे४प ५८५ नम्बरको मोटरसाइकल र खेत जोतेर सडकमा निस्कँदै गरेको मे१त ७४०४ नम्बरको ट्याक्टर एकापसमा ठोक्किँदा उक्त मानवीय क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकल चालक झापा गाउँपालिका–३ का २० वर्षीय समिर अली, उनकी आमा ४५ वर्षीया नुरेश सादेवी र समिरकी पाँच वर्षीया छोरी हाजिरा खातुन घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि कनकाई अस्पताल सुरुङ्गा लगिएकोमा चिकित्सकले समिर अली र हाजिरा खातुनलाई मृत घोषणा गरेको सूचना अधिकारी अवाले बताए ।

गम्भीर घाइते नुरेश सादेवीलाई थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको छ । ट्याक्टर चालक कनकाई नगरपालिका–५ का ४६ वर्षीय चक्रबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − one =