नागरिक अधिकार कुण्ठित गर्न खोजेको भन्दै पेशागत सञ्जालको खबरदारी र्याली

काठमाडौं । नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकमा भइरहेको संकुचनप्रति चिन्ता व्यक्त गर्दै र्यालीसहित विरोध प्रदर्शन गरिएको छ ।
शुक्रवार नेपाल पत्रकार महासंघको आयोजना तथा शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)को ऐक्यवद्धतामा काठमाडौंको माइतिघरदेखि बबरमहलसम्म र्यालीसहित विरोध प्रदर्शन गरेको हो ।
विरोध सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले राज्यले मिडियामाथि अंकुश लगाउने काम गरेको आरोप लगाएकी छन् । उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र संविधानको पूर्ण कार्यान्वयनका लागि पत्रकार महासंघ आन्दोलनमा उत्रिएको बताएकी हुन् । उनि सरकारले निजी सञ्चारमाध्यमलाई विज्ञानपन नदिने कार्यले नागरिक सर्वोच्चताको समेत हनन भइरहेको बताइन् ।
मानव अधिकारकर्मी सुशील प्याकुरेलले सरकारका क्रियाकलापले लोकतन्त्रका आधारभूत संरचनामाथि चुनौती थपिएको बताए । उनले सरकारले अप्रत्यक्ष रुपमा लोकतन्त्रका खम्बाहरू कमजोर पार्ने प्रयास गरिरहेको ओाप लगाए ।
उनले सरकारका गतिविधिहरु कानून र संविधानसम्म नभएको भन्दै जेनजी आन्दोलनसम्बन्धी कार्की आयोगको प्रतिवेदन कार्यान्वयनका नाममा दमन गरेको आरोप लगाए ।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकार नागरिक अधिकार, प्रेस स्वतन्त्रता, पेशागत तथा ट्रेड युनियन अधिकारविरुद्ध उभिएको भन्दै आपत्ति जनाए । उनले मुलुकको विभिन्न कालखण्डमा नागरिक अधिकार र व्यवस्था परितवर्तनका लागि लडेका पेशागत आन्दोलनहरुलाई कमजोर पार्ने कार्य स्वीकार्य नहुने बताए । उनले सरकार यही दिशामा अघि बढे पेशागत क्षेत्र फेरि आन्दोलनमा उत्रन सक्ने चेतावनी दिए ।
नेपाल बार एशोसिएशनका अध्यक्ष डा. विजय मिश्रले सरकारले प्रेसप्रति उदार दृष्टिकोण नदेखाएको आरोप लगाए । उनले विज्ञापन कटौतीमार्फत सञ्चारगृहलाई कमजोर बनाउने प्रयास भएको भन्दै संविधानले प्रेस स्वतन्त्रताको सुनिश्चितता गरेको उल्लेख गरे ।
उनले सरकारले निजी क्षेत्रका सञ्चारमाध्यमलाई विज्ञापन नदिएर निजी सञ्चार क्षेत्र बन्द गर्ने नियत राखेको आरोप लगाए । उनले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिमा समेत सरकारले परम्परा मिचेको आरोप लगाए ।









