सरकारको कार्यशैली दम्भपूर्ण भएको सांसद भट्टको आरोप

काठमाडौँ । राष्ट्रिय सभा सदस्य नारायणदत्त भट्टले सरकारले सुदूरपश्चिम प्रदेशको विकासलाई उपेक्षा गरेको बताएका छन् ।

बजेट विनियोजनमा न्यायोचित वितरण नगरेको भन्दै आपत्ति जनाएका हुन् ।

शुक्रवार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद भट्टले सुदूरपश्चिमको बजेट न सन्तुलित, न त समयसापेक्ष नै रहेको दाबी गरे । सांसद भट्टले सुदूरपश्चिमको प्रमुख व्यापारिक नाका गौरीफन्टालाई अन्तर्राष्ट्रिय नाका बनाउने पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भएको सहमति कार्यान्वयनमा सरकारले चासो नदिएको बताए ।

सुदूरपश्चिमका पर्यटकीय तथा प्राकृतिक क्षेत्रहरूको सम्भावनालाई सरकारले नजरअन्दाज गरेको उनको आरोप थियो । खप्तड, रामारोशन, बडिमालिका र खानीडाँडा जस्ता महत्त्वपूर्ण क्षेत्रको प्रवर्द्धनमा बजेट मौन रहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । यस्तै, हुलाकी राजमार्ग अन्तर्गतका सडक र पुलहरू विगत ६ वर्षदेखि जीर्ण अवस्थामा रहँदा पनि मर्मतमा ध्यान नदिइएको उनले उल्लेख गरे ।

सरकारको कार्यशैली र मन्त्रीहरूको अभिव्यक्तिप्रति लक्षित गर्दै सांसद भट्टले वर्तमान सरकारमा दम्भ देखिएको टिप्पणी गरे । विशेषगरी नयाँ राजनीतिक शक्तिहरूले ३५ वर्ष पुराना भन्दै विगतका सबै उपलब्धि र व्यक्तिहरूलाई गाली गर्ने प्रवृत्तिको उनले आलोचना गरे ।

सम्पत्ति शुद्धीकरण र छानबिनको विषयमा बोल्दै उनले कानुन सबैका लागि समान हुनुपर्नेमा जोड दिए ।

उनले भने ‘यदि गौरीफन्टा नाकालाई अन्तर्राष्ट्रिय नाकाका रूपमा विकास गरिएन भने धनगढी बजारको अवस्था भद्रपुरको जस्तै हुने खतरा छ । सरकारले विकासमा समानताको कुरा गरे पनि बजेटको आकार र वितरण न्यायोचित छैन । ३५ वर्ष अगाडिका मानिसहरूले काम नगरेको भए आज तपाईँहरू मन्त्री र प्रधानमन्त्री हुने अवस्था हुने थिएन । पुरानो व्यवस्थाकै जगमा उभिएर अहिलेको जिम्मेवारीमा पुगेकाहरूले विगतलाई मात्र सराप्नु तर्कसङ्गत छैन । नयाँ हुनेलाई कानुन नलाग्ने र पुरानालाई मात्र सम्पत्ति शुद्धीकरणमा तान्ने कुरा न्यायोचित छैन । सम्पत्ति छानबिन गर्ने हो भने आफ्नै पुस्ता र परिवारबाट सुरु गरौँ, कानुनले नयाँ र पुरानो भन्दैन ।’

सांसद भट्टले सरकारलाई संविधान, विधि र पद्धतिको पालना गर्न सचेत गराउँदै जनतासँग गरिएका वाचाहरू पूरा गर्न आग्रह गरे । लोकतान्त्रिक संस्थाहरू र भौतिक संरचनाहरूको सम्मान गर्नुपर्ने बताउँदै उनले अरूको अस्तित्व स्वीकार नगरे आफ्नो अस्तित्वको पनि औचित्य नरहने चेतावनी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =