पटनामा बन्धक ९ सय नेपालीको तत्काल उद्धार गर्न सांसद राईको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकार र सभामुखको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले प्रतिपक्षको आवाज नसुनी सत्तापक्ष अगाडि बढेको भन्दै संसद्को ध्यानाकर्षण गराए ।

सांसद राईले प्रधानमन्त्रीको विवादास्पद वक्तव्य सच्याउन माग गर्दै आफूहरूले १६ दिनदेखि प्लेकार्डसहित सदनमा विरोध जनाइरहेको स्मरण गराए । प्रधानमन्त्रीले प्रयोग गरेको ‘राष्ट्रघाती’ शब्द संसद्को अभिलेखबाट हटाउन सभामुखलाई आग्रह गरेको लामो समय भइसक्दा पनि कुनै सुनुवाइ नभएकोमा उनले आपत्ति प्रकट गरे ।

सांसद राईले बजेट निर्माण र वितरणको प्रक्रियामा देखिएको प्राविधिक तथा व्यवस्थापकीय कमजोरीको पनि कडा आलोचना गरे । रक्षा मन्त्रालयको बजेट पुस्तिका ९रेड बुक० उपलब्ध नगराई छलफल सकिएकोमा प्रश्न उठाउँदै उनले अर्थमन्त्रीको जबाफदेहिता माग गरे । यस्तै, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको बजेट विनियोजनमा पनि अङ्कगणितीय त्रुटि देखिएको उनको दाबी छ ।

५ अर्बभन्दा बढीको बजेटमा १ अर्ब ६१ करोडको मात्र स्पष्ट विवरण देखिएको र बाँकी ४ अर्ब ३२ करोडभन्दा बढी रकमको ब्रेकडाउन अपारदर्शी रहेको उनले बताए । यस्तो गम्भीर त्रुटि गर्ने छुट सरकारलाई नभएको उनको तर्क थियो । सांसद राईले भारतको पटनामा ९०० जना नेपाली दाजुभाइ दिदीबहिनीहरू नेटवर्किङ व्यवसायको प्रलोभनमा परी बन्धक बनाइएको सूचना प्राप्त भएको जानकारी गराए ।

त्यहाँ नेपालीहरूको मोबाइल फोन जफत गरी कुटपिट गर्ने र नियन्त्रणमा राख्ने काम भइरहेको भन्दै उनले तत्काल उद्धारका लागि सरकारको ध्यानाकर्षण गराए । सोही प्रकरणमा संलग्न भएको आरोपमा सोल्टी होटलबाट पक्राउ परेका इटहरी निवासी ईश्वर ढकालमाथि कारबाही अघि बढाउन र पीडितको उद्धारमा सक्रियता देखाउन उनले सम्बन्धित मन्त्रालयसँग माग गरे ।

उनले भने ‘सरकार र सभामुखले प्रतिपक्षको माग नसुन्ने हो भने हामी जिम्मेवार बन्न सक्दैनौँ । मान्छे राम्रो लुगा लगाएर वा चिलो गाडी चढेर मात्र बन्दैन, उसमा नैतिकता र जबाफदेहिता हुनु अनिवार्य छ ।’

स्वदेशी श्रम शक्ति विदेश पलायन भइरहेको प्रति चिन्ता व्यक्त गर्दै उनले सरकारलाई ठोस योजना ल्याउन सुझाव दिए । सरकारले उत्पादनमुखी क्षेत्रमा लगानी बढाएर युवाहरूलाई स्वदेशमै रोजगारीको सुनिश्चितता गर्नुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − four =