एमाले लुम्बिनीका ८३ प्रतिशतभन्दा बढी नेताको मत: ‘ओलीले अध्यक्ष पद छाड्नुपर्छ’

काठमाडौं । नेकपा एमालेको पार्टी समीक्षा तथा पुनर्गठन कार्यदलले लुम्बिनी प्रदेशमा संकलन गरेको सुझावमा अधिकांश नेताहरू अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वबाट मार्गप्रशस्त गर्नुपर्ने पक्षमा देखिएका छन् ।

बिहीबार कपिलवस्तुमा सचिव छविलाल विश्वकर्माको अध्यक्षतामा आयोजित सुझाव संकलन कार्यक्रममा सहभागी अधिकांश नेताहरूले ओलीको अध्यक्षीय निरन्तरताको विपक्षमा धारणा राखेका हुन् ।

सुझाव संकलन कार्यक्रममा एमालेका वरिष्ठ नेताहरू रामबहादुर थापा, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, शंकर पोखरेल, प्रदीप ज्ञवालीलगायत लुम्बिनी प्रदेशका नेताहरू उपस्थित थिए ।

कार्यदलले सुझावका लागि प्रदेशका १०९ जना नेताहरूलाई आमन्त्रण गरेको थियो । तीमध्ये ७४ जना उपस्थित भएका थिए भने ६८ जनाले आफ्नो धारणा राखेका थिए ।

बैठकमा धारणा राख्नेमध्ये केवल पाँच जनाले ओलीलाई अध्यक्षमा यथावत् राख्नुपर्ने मत व्यक्त गरेका थिए । स्रोतका अनुसार नेता सूर्य थापा, भूमेश्वर ढकाल तथा अर्घाखाँचीका एक जिल्ला सचिवसहित पाँच जनाले ओलीको निरन्तरताको पक्ष लिएका थिए ।

यस्तै, छ जनाले ओलीले नेतृत्वमा निरन्तरता दिए पनि हुने र नदिए पनि हुने भन्दै स्पष्ट पक्ष नलिएको स्रोतले जनाएको छ ।

तर ६८ मध्ये ५७ जना नेताले भने ओलीले अध्यक्ष पदबाट हट्नुपर्ने धारणा राखेका थिए । यो संख्या सुझाव दिने कुल नेतामध्ये ८३ प्रतिशतभन्दा बढी हो ।

सुझाव संकलनका क्रममा एमालेभित्र नेतृत्व रूपान्तरणको पक्षमा तयार गरिएको पर्चासमेत वितरण गरिएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =