राज्यबाट एक रुपैयाँ पनि तलबभत्ता नलिएका पूर्व सांसद सुनिल शर्मा, जसले सेवा मात्रै गरे

काठमाडौँ । आज देशको राजनीतिक बहस भ्रष्टाचार, शक्ति संघर्ष र सत्ताकेन्द्रित प्रतिस्पर्धामा अड्किएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान, अदालतका बहस र संसदभित्रका आरोप–प्रत्यारोपबीच नागरिक विश्वास क्रमशः कमजोर बन्दै गएको छ । यस्तो समयमा एउटा सामान्य देखिने तर अर्थपूर्ण कागजातले फरक प्रश्न उठाएको छः राजनीति सेवा हो कि सुविधा ?

संघीय संसद् सचिवालयको आर्थिक प्रशासन शाखाले २०८३ असार ४ गते जारी गरेको पत्रमा उल्लेख भएअनुसार २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद सुनिलकुमार शर्माले आफ्नो कार्यकालभर संसद् सचिवालयबाट उपलब्ध हुने कुनै पनि प्रकारको तलब, भत्ता तथा सुविधा ग्रहण गरेनन् । उनले आफ्नो कार्यकालभर राज्यबाट एक रुपैयाँ तलबभत्ता समेत नलिई अनवरत जनताको पक्षमा काम गरे ।

राजनीतिलाई धेरैले अवसर, पहुँच र सुविधा प्राप्त गर्ने माध्यमका रूपमा हेर्ने परिप्रेक्ष्यमा राज्यले दिने सेवा–सुविधा अस्वीकार गर्नु आफैँमा दुर्लभ अभ्यास हो । अझ सांसद पदमा रहँदा तलबभत्ता नलिनु नेपाली राजनीतिक इतिहासमै विरलै देखिने उदाहरणमध्ये एक मानिन्छ ।

शर्मा संसदभित्र सक्रिय सांसदका रूपमा परिचित थिए । स्वास्थ्य सेवा, स्वास्थ्य बीमा विस्तार, मेडिकल शिक्षामा पहुँच र नागरिकको आधारभूत स्वास्थ्य अधिकारका विषयमा उनले निरन्तर आवाज उठाएका थिए । उनका अभिव्यक्तिहरू प्रायः जनसरोकारका मुद्दामा केन्द्रित हुने गर्थे ।

राजनीतिक भूमिकासँगै उनी स्वास्थ्य क्षेत्रमार्फत सामाजिक सेवामा पनि संलग्न छन् । काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालसँग आबद्ध शर्माले आर्थिक अभावका कारण उपचार नपाउने बिरामीलाई सहयोग गर्ने गतिविधिहरू गर्दै आएको चर्चा हुने गर्छ ।

मिर्गौला प्रत्यारोपणदेखि आकस्मिक उपचारसम्म, आर्थिक संकटमा परेका बिरामीहरूलाई सहयोग गरेको उदाहरणहरू सार्वजनिक रूपमा उल्लेख गरिन्छ । शर्मा अहिले पनि हजारौँ गरिब, असहाय र विपन्न नागरिकका लागि आशाको केन्द्र बनिरहेका छन् । मिर्गौला प्रत्यारोपण गर्न नसकेर मृत्यु पर्खिरहेका बिरामीलाई जीवन दिने कामदेखि आर्थिक अभावमा उपचार गराउन नसक्ने परिवारसम्म पुगेर सहयोग गर्ने उनको अभियान आज पनि निरन्तर छ ।

शर्माको राजनीतिक शैली चुनाव जितेपछि मात्र होइन, पद बाहिर हुँदा पनि निरन्तर सक्रिय देखिन्छ । पद, शक्ति र सुरक्षाको घेराबन्दी बाहिर पनि जनसरोकारका काममा सक्रिय रहनु उनको राजनीतिक अभ्यासको विशेषता मानिन्छ ।

आजको राजनीतिक वातावरणमा संसद् र सरकारका समाचार प्रायः विवाद, आरोप र शक्ति संघर्षमा केन्द्रित हुने गर्छन् । यस्तो पृष्ठभूमिमा संघीय संसद् सचिवालयको उक्त पत्रले प्रश्न उठाएको छ– राजनीति अन्ततः जनताको सेवा हो कि व्यक्तिगत अवसरको व्यवस्थापन ? यो प्रश्नको जवाफ भने पूर्व सांसद शर्माले जनताको सेवा गरेर दिएका छन् ।

शर्माको राजनीतिक शैलीलाई धेरैले राजनीतिक इमानदारी र सेवाभावको संकेतका रूपमा हेर्छन् । उसो त, यसलाई व्यक्तिगत अभ्यासका रूपमा मात्र व्याख्या पनि गर्ने गरिन्छ । तर पद र शक्तिको दुरुपयोग नगरी जनताको सेवामा खटिने शर्माले आफ्नो कार्यकालभरि संसदीय गतिविधि मात्रै नभएर जनताको सेवालाई प्राथमिकतामा राखे ।

तर जे भए पनि एउटा तथ्य भने स्पष्ट छ, राजनीतिमा असामान्य अभ्यासहरूले नै सामान्य बहसलाई पुनर्जीवित गर्ने गर्छन् । राजनीतिमा नाम पदका कारण होइन, व्यवहारका कारण स्मरणीय बन्ने गर्छ भन्ने तर्कलाई शर्माको अभ्यासले थप एउटा उदाहरण दिएको छ ।

शर्माको यो अभ्यास प्रशंसाको विषय मात्र होइन, बहसको विषय पनि हो । सार्वजनिक पदमा रहेर सेवा–सुविधा नलिनु नै आदर्श राजनीतिक चरित्र त हो नै यससँगै प्रणालीभित्र सुधार आवश्यकता पनि उत्तिकै जरुरी छ । राजनीति व्यक्तिगत त्यागमा भर पर्नु उपयुक्त भए पनि संस्थागत पारदर्शिता र जबाफदेहिता नै मुख्य कुरा हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 7 =