चिया बगानका समस्या तत्काल समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौँ । राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले चिया किसान तथा चिया बगानमा कार्यरत श्रमिकहरूको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ ।
बिहीबार बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो ।
समिति सभापति कृष्णप्रसाद पौडेलले चिया क्षेत्रका देखिएका समस्यालाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।
उनले चिया किसान र श्रमिकका समस्या समाधानसँगै अलैँची, सुपारी, बेसार, अदुवा, कफीलगायत अन्य नगदेबालीको मूल्य निर्धारण तथा बजार व्यवस्थापन प्रभावकारी बनाउन सरकारलाई आग्रह गरे । सभापति पौडेलले नगदेबाली उत्पादन गर्ने किसानले उचित मूल्य र सुनिश्चित बजार नपाएको भन्दै यी बालीहरूको व्यवस्थित बजार प्रणाली विकास गर्न आवश्यक कानुनी व्यवस्था गर्न समेत सरकारसमक्ष आग्रह गरे ।
उनले भने ‘चिया किसान र चिया बगानमा काम गर्ने श्रमिकहरूको समस्या तुरुन्त समाधान गर्नको लागि म आग्रह पनि गर्न चाहन्छु र यो समितिको तर्फबाट निर्देशन पनि दिन चाहन्छु । अन्य नगदेबालीहरु अलैँची, सुपारी, बेसार, अदुवा, कफी आदीको मूल्य निर्धारण र बजार व्यवस्थापन गर्नको लागि समेत सरकारले काम गरोस् । यी नगदेबालीहरुको बजार व्यवस्थापनका लागि यही अधिवेशनभित्र एउटा कानुन पनि ल्याउन म आग्रह गर्न चाहन्छु ।’
विगत ४ दिन यता इलामलगायत देशभरिका चिया उद्योगीहरूले चिया निर्यातमा समस्या देखिएपछि आफ्नो उद्योग बन्द गरेका छन् ।









