सात महिनादेखि पारिश्रमिक नपाएपछि मधेसका प्रयोगशालाकर्मी आन्दोलित

काठमाडौँ । मधेस प्रदेशका १३६ वटै स्थानीय तहमा कार्यरत जनस्वास्थ्य प्रयोगशालाका कर्मचारीहरूले विगत सात महिनादेखि पारिश्रमिक तथा अन्य सेवा–सुविधा नपाएको भन्दै आन्दोलन सुरु गरेका छन् ।
पीडित कर्मचारीहरूले आफ्नो माग सम्बोधनका लागि जनकपुरधामस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको कार्यालय अगाडि धर्ना तथा र्याली प्रदर्शन गरेका हुन् ।
प्रयोगशालाकर्मीहरूकाअनुसार आर्थिक वर्ष २०८२/८३ को कात्तिक महिनादेखि हालसम्मको तलब र चाडपर्व भत्ता उपलब्ध गराइएको छैन । चालु आर्थिक वर्ष समाप्त हुन लाग्दासमेत कर्मचारीहरूको म्याद थप तथा नवीकरण प्रक्रिया टुङ्गो नलागेपछि आफूहरू सडक संघर्षमा उत्रिनु परेको प्रयोगशालाकर्मी अनिल महतोले बताए ।
संयुक्त संघर्ष समितिका संयोजक साहिद राइनले आफ्ना समस्याबारे सम्बन्धित निकायहरूलाई पटक–पटक लिखित तथा मौखिक रूपमा जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको गुनासो गरे ।
आन्दोलनरत कर्मचारीहरूले मधेस प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, श्रम तथा यातायात मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र प्रदेश जनस्वास्थ्य प्रयोगशालाको ध्यानाकर्षण गराउँदै तत्काल माग पूरा गर्न आग्रह गरेका छन् । उनीहरूले रोकिएको तलब भुक्तानी, सेवा सम्झौता नवीकरण, पोसाक भत्ता, जोखिम भत्ता तथा महँगी भत्ता उपलब्ध गराउनुपर्ने माग राखेका छन् । आफ्ना मागहरू तत्काल सम्बोधन नगरिए आन्दोलनलाई थप सशक्त र कडा बनाउने चेतावनी समेत प्रयोगशालाकर्मीहरूले दिएका छन् ।









