‘सरकारले चालु संसद् अधिवेशनमा नै संघीयतासम्बन्धि सबै ऐनहरू पारित हुनेगरी काम गर्नुपर्दछ’

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस राष्ट्रिय सभाका सांसद आनन्दप्रसाद ढुंगानाले संसदको चालु अधिवेशनमा संघीयता सम्बन्धी सबै कानुनहरू पारित गर्न सरकारसँग माग गरेका छन् ।

मंगलवार संघीय संसद् राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

सांसद ढुंगानाले सरकारले कानुन निर्माण गर्ने विषयमा चासो नलिएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे । सरकार अध्यादेशमार्फत चल्ने मनस्थितिमा रहेकाले कानुन निर्माणको कामले गति पाउने अवस्था नरहेको सांसद ढुंगानाको जिकिर थियो । उनले सरकारको कारण मुलुकमा बजेटमाथिको छलफल पनि सोचे अनुसार हुन नसकेको दाबी समेत गरे ।

सांसद ढुंगानाले भने ‘संघीयताका लागि यो यो ऐन अति आवश्यक छ भनेर समितिले यस अघि नै भनिसकेको छ । त्यसलाई अहिलेको चालू अधिवेशनमा नै अथवा यही अवधिमा नै पास हुनु पर्दछ । किनभने त्यसपछि संसद् दसैँसम्म बन्द होला । यही अवधिमा फाष्टट्रयाकमा सरकारले ल्याओस् । र पास गरोस् भन्ने मेरो आग्रह हो । तर सरकार अध्यादेशमार्फत देश चलाउने मनस्थितिमा छ । त्यसकारण सरकारले ऐनहरू निर्माणको काममा चासो देखाएको देखिँदैन । दैनिक कामपनि जति संसदमा हुनुपर्दथ्यो, त्यो पनि पूर्ण हुन सकिराखेको छैन । हामीले बजेटबारे पनि राम्रोसँग छलफल गर्न पाइरहेका छैनौँ ।’

सांसद ढुंगानाले संसदीय समितिहरूले पटक पटक सचेत गराउँदा पनि सरकारले संघीयता सम्बन्धी कानुन निर्माणमा चासो नदिएको पनि स्मरण गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 2 =