रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति सभापतिमा कास्कीका नवीन त्रिपाठी विजयी भएका छन् ।

रास्वपाको शुक्रबारदेखी पोखरामा प्रथम अधिवेशन सुरु भएको थियो । नयाँ नेतृत्वका लागि शुक्रबार राति भएको मतदानको आज बिहान सम्पन्न मतगणनामा त्रिपाठीले २३४ मत ल्याएर विजयी भएका हुन् ।

उनी प्रदेश समितिको निर्वतमान महामन्त्री समेत हुन् । सभापतिका प्रत्याशीहरू निर्वतमान सभापति एवं प्रतिनिधिसभाका सांसद राजन गौतमले १८२, माधव कँडेलले ११ र डा हरि कार्कीले २ मत प्राप्त गरे ।

रास्वपाको विधानमा सभापति निर्वाचित हुन कुल मतदानको ५१ प्रतिशत मत पाउनुपर्ने व्यवस्था छ । त्रिपाठीले पहिलो चरणमै उक्त मत पाएर निर्वाचित भएको निर्वाचन समितिका संयोजक डा राम गुरुङले जानकारी दिए । अधिवेशनमा कूल ७८० प्रतिनिधी रहे पनि ४३७ जनाले मात्र मतदानमा सहभागिता जनाएका थिए ।

रास्वपा गण्डकी प्रदेशको सदस्यका लागि ५१ जनाले उम्मेद्वारी दिएका थिए । जसमध्येबाट विभिन्न कलस्टरसहित ३३ जना निर्वाचित हुन्छन् । ५१ आकांक्षीमध्ये क्षेत्रगत प्रदेश सदस्यका लागि २८ जना उम्मेद्वार छन् ।

यी २८ जनाबाट गण्डकी प्रदेशको १८ वटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रका १/१ जना निर्वाचित हुन्छन् । समावेशी प्रदेश सदस्यका लागि २३ जनाको उम्मेद्वारी परेको थियो ।

प्रदेश सदस्यका लागि ५१ आकांक्षीमध्ये १२ जना निर्विरोध निर्वाचित भएका छन् । क्षेत्रगत प्रदेश सदस्यतर्फबाट बागलुङ–१ का मीना शर्मा आचार्य, गोरखा–१ बाट मनोज गुरुङ, गोरखा–२ बाट बलबहादुर घले, लमजुङबाट विजय पराजुली, म्याग्दीबाट ताराबहादुर कार्की र तनहुँ–१ बाट सूर्यमणि पौडेल निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

प्रदेश समावेशी सदस्यमा खसआर्य महिलाबाट सीताकुमारी अर्याल, कृष्णकुमारी अधिकारी (अनिशा) र राममाया बस्ताकोटी निर्विरोध निर्वाचित भएका छन् ।

मुस्लिम महिलाबाट समिउन निशा, दलित महिलाबाट गीता विश्वकर्मा र अपाङ्गता भएका खसआर्यबाट यदुनाथ सिग्देल निर्विरोध निर्वाचित भएको जनाइएको छ । अधिवेशनको शुक्रबार पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =