आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सिंहदरबार वैद्यखानाको अनुगमन गरेकी छन् ।
उनले आज अनामनगरस्थित वैद्यखाना पुगेर अनुगमन तथा छलफल गरेकी हुन् । वैद्यखानाको सुधारका लागि मन्त्रालय सधैँ तत्पर रहेको उल्लेख गर्दै मन्त्री मेहताले मुलुकलाई आवश्यक पर्ने आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्ने बताइन् ।
वैद्यखानाको क्षमता अभिवृद्धि, औषधि उत्पादन तथा बजार प्रवर्द्धन गर्न तत्काल गर्नुपर्ने सुधारका लागि आवश्यक स्रोतसाधन, औजार उपकरण र जनशक्तिको विवरणसहित तत्काल पेस गर्न मन्त्री मेहताले सुझाव दिइन् । उनले वैद्यखानाको समग्र सरसफाइ तथा व्यवस्थापनमा प्रभावकारिता ल्याउन निर्देशन दिइन् ।
मन्त्रालयका सचिव डा विकास देवकाटाले वैद्यखानाबाट उत्पादन हुने आयुर्वेद औषधि गुणस्तरीय रहेको भन्दै अझ क्षमता बढाउनुपर्ने बताए ।
वैद्यखानाका कार्यकारी निर्देशक डा प्रदीप केसीले वैद्यखानाबाट उत्पादन हुने औषधि र खाद्यपूरक पदार्थका बारेमा मन्त्री मेहतालाई जानकारी गराए । उनले विगत पाँच वर्षदेखि घाटामा रहेको वैद्यखानालाई औषधि उत्पादन बढाएर नाफामा पुर्याइएको बताए ।
उनले अहिले वैद्यखानाबाट १०३ प्रकारका औषधि उत्पादन भइरहेको भन्दै सरकारले सहयोग गरेमा उत्पादन अझ बढाइने बताए ।








