बजेट प्रक्रिया अगाडि बढाउन श्रम संस्कृति पार्टी लचक, विरोध भने जारी रहने

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्ना मागहरू यथावत् रहे पनि बजेट प्रक्रियालाई लामो समयसम्म नरोक्ने बताएका छन् ।

प्रतिपक्षी दलहरूबीच भएको छलफलपछि बजेटलाई धेरै समयसम्म अल्झाइराख्नु उचित नहुने निष्कर्ष निकालिएको उनले जानकारी दिए ।

विगत १० दिनदेखि जारी राजनीतिक गतिरोधका सन्दर्भमा बोल्दै अध्यक्ष राईले सम्बन्धित पक्षले सदनमा उपस्थित भएर आफ्नो भनाइ सच्याउनुपर्ने अडान दोहोर्याए ।

अध्यक्ष राईले प्रतिपक्षी दलहरूबीचको कार्यगत एकतामा जोड दिँदै आफूहरू एक्लै नभई अन्य दलहरूसँगको समन्वयमा अगाडि बढिरहेको स्पष्ट पारे । माग पूरा नभएसम्म सदनमा विरोध प्रदर्शन जारी रहने भएपनि विकास र बजेटको प्रक्रियालाई निकास दिन पार्टीले लचकता अपनाउने उनको भनाइ छ ।

उनले भने ‘हाम्रा मागहरूमा हामी दृढ छौँ र सदनभित्र विरोधका कार्यक्रमहरू जारी रहनेछन् । तथापि, बजेट जस्तो महत्त्वपूर्ण विषयलाई महिना दिनसम्म रसाकसीको अवस्थामा राखिरहनु उपयुक्त नहुने साझा निष्कर्षमा हामी पुगेका छौँ ।’

विगत केही समयदेखि श्रम संस्कृति पार्टी र अन्य विपक्षी दलहरूले विभिन्न माग राख्दै आएका कारण बजेट निर्माण र कार्यान्वयनको प्रक्रिया प्रभावित हुँदै आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − five =