बिपीलाई आदर्श मान्ने अर्थमन्त्रीले बजेट बनाउँदा गाउँको झुपडीमा बस्नेलाई बिर्सिनुभएछ: सांसद राना

काठमाडौँ । नेपाली काँग्रेसका सांसद सन्दीप रानाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिपी कोइरालालाई आदर्श मान्ने बताउने गरेपनि बजेटमा त्यस्तो नदेखिएको टिप्पणी गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफल उनले अर्थमन्त्रीले बजेट निर्माण गर्दा दुर्गम गाउँका नागरिकलाई बिर्सिएको आरोप लगाए ।
बजेटमा विकासको खाका बनाउँदै गर्दा दुर्गम गाउँको झुपडीमा बस्ने नागरिकलाई ध्यान राखेर बनाउनुपर्दछ भन्ने बिपीको उद्गारलाई अर्थमन्त्रीले बिर्सिएको उनको भनाई छ । उनले सरकारले बजेट अव्यवहारिक, असमावेशी र ग्रामीण जनजीवनप्रति असंवेदनशील रहेको बताए । राष्ट्रिय योजना आयोगले निर्धारण गरेको सीमाभन्दा करिब दुई खर्ब रुपैयाँ बढीको बजेट ल्याएर ७ प्रतिशत आर्थिक वृद्धि र ६ प्रतिशतभित्र मुद्रास्फीति सीमित राख्ने लक्ष्य व्यवहारिक नदेखिएको उनको दाबी छ ।
उनले बजेटमा संविधानको मर्मअनुसार सामाजिक न्याय र समावेशिताको भावना समेत नसमेटिएको बताए । निम्न आयवर्ग, असंगठित क्षेत्रका श्रमिक, किसान, युवा, महिला तथा सीमान्तकृत समुदाय बजेटका प्राथमिकताबाट बाहिर परेको उनको भनाई छ । उनले कृषि क्षेत्रलाई सरकारले पर्याप्त प्राथमिकता नदिएको पनि आरोप लगाए ।
ग्रामीण क्षेत्रमा युवालाई स्वदेशमै रोजगारी र स्वरोजगार सिर्जना गर्ने सरकारी प्रतिबद्धता बजेटमा कार्यान्वयन हुने आधार नदेखिएको उनको भनाई छ । सांसद राणाले गाउँ पुनर्जीवन, कृषि उत्पादन वृद्धि, बाँझो जमिनको उपयोग, स्थानीय सडक तथा पर्यटन पूर्वाधार विकासका कार्यक्रम बजेटमा प्रभावकारी रूपमा नसमेटिएको बताए ।
रित्तिँदै गएका गाउँहरू पुनर्वास गर्ने योजनासमेत केवल घोषणामै सीमित हुने अवस्था देखिएको उनको टिप्पणी छ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरिएपनि नवप्रवर्तन र प्रविधि विकासका लागि पर्याप्त बजेट विनियोजन नभएको उनले बताए । सरकारको कार्यशैलीका कारण निजी क्षेत्र निरुत्साहित बनेको भन्दै उनले यस्तो अवस्थामा रोजगारी र स्वरोजगार विस्तारको लक्ष्य हासिल गर्न कठिन हुने उल्लेख गरे ।
उनले कर प्रणाली पनि न्यायोचित नभएको दाबी गरे ।
उनले भने ‘महामानव बिपी कोइरालालाई आदर्श मान्नुहुने, सुवर्ण शमशेरको नामबाट बजेट भाषण प्रारम्भ गर्नुहुने विख्यात अर्थशास्त्री माननीय अर्थमन्त्रीद्वारा ल्याउनुभएको बजेटमा विकासको खाका बनाउँदै गर्दा दुर्गम गाउँको झुपडीमा बस्ने नागरिकलाई ध्यान राखेर बनाउनुपर्दछ भन्ने बिपीको उद्गारलाई नै बिर्सिनु भएको छ । राष्ट्रिय योजना आयोगले तोकेको सीमाभन्दा २ खर्ब रुपैयाँ बढी रकमको बजेट ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने र मुद्रा स्फीतिलाई ६ प्रतिशत भित्र सीमित राख्ने महत्वकांक्षी बजेट कतै पनि कहीँ पनि व्यवहारिक देखिएको छैन । संविधानको मर्म स्वरूप नै छैन, केही वर्गलाई राम्रो लागे पनि यो बजेटले सामाजिक न्याय गरेको छैन । निम्न वर्ग, किसान, युवा, महिला तथा सीमान्त वर्गलाई समावेशिता नै गर्न सकेको छैन । २० प्रतिशतभन्दा मुनिका निम्न वर्ग र २० प्रतिशत असङ्गठित वर्ग जस्ता देशको ठुलो वर्गलाई यो बजेटले कतै समेटेको छैन । २४ प्रतिशत जीडीपी र ६० प्रतिशत रोजगारलाई योगदान पुर्याएको कृषि क्षेत्रलाई उपेक्षा नै गरिएको छ । म पूर्वी पाल्पाको दुर्गम तथा सम्भावना बोकेको रामपुर, निसदी, रम्भा, पूर्वखोला, माथागढी, तिनाउ, तानसेन क्षेत्रबाट प्रतिनिधित्व गर्छु, पाल्पा मात्रै होइन देशको सम्पूर्ण ग्रामीण भूभागको तस्बिर एउटै खालको छ । देशको युवाहरूलाई स्वदेशमा नै रोजगार र स्वरोजगार दिने भनिएको सरकारको गाउँको युवा र महिला दिदीबहिनीहरूको नयाँ स्टार्टअपमा उपयुक्त ध्यान नै गएको छैन । रित्तिएको गाउँहरूलाई पुनर्वास गर्न आदर्श गाउँ योजनाहरू सपना नै रहने देखिएको छ । बाझिएको खेतबारीमा अन्नबाली झुलाएर कृषिमा नै आत्मनिर्भर हुने योजना तुहिएको छ । गाउँले दैनिक जीवनलाई प्रत्यक्ष प्रभाव पार्ने र पर्यटन विकासलाई सहयोग पुर्याउने सडक तथा पूर्वाधार विकासहरू यो बजेटमा पूरा हुने देखिएको छैन । भूगोलभन्दा गुगलको धेरै कुरा गर्ने सरकारले भर्खरै मात्रै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अलग्गै गठन गरेतापनि विज्ञान प्रविधि र नवप्रवर्तन क्रान्तिको लागि पर्याप्त बजेट विनियोजन पनि भएको छैन । सुनेर थुन्नेभन्दा पनि थुनेर सुन्ने सरकारको कार्यशैलीले निजी क्षेत्र अति नै निरुत्साहित छ । अनि रोजगार र स्वरोजगारको कसरी अगाडि बढाउन सकिन्छ रु यो पनि मेरो सरकारलाई एउटा प्रश्न छ ।’
राज्यले जनतामाथि अनावश्यक भार नपर्ने गरी कर संकलन गरेर त्यसलाई विकासमा लगानी गर्नुपर्नेमा जोड दिए । विलासिताका वस्तुमा उच्च कर र आधारभूत आवश्यकताका वस्तुमा सहुलियत हुनुपर्ने उल्लेख गर्दै उनले बजेटले शिक्षा, स्वास्थ्य, दुग्ध उत्पादन तथा विद्युत् क्षेत्रमा अतिरिक्त करको भार थपेको आरोप लगाए ।








