वैकल्पिक भनिएका शक्तिहरू विचारशुन्य र विध्वंसात्मक बाटोमा लागे: डा. सीके राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले मुलुकमा पछिल्लो समय स्थापित हुन खोजेका वैकल्पिक राजनीतिक शक्तिहरू विचारशुन्य र तर्कहीन बन्दै गएको बताएका छन् ।
काठमाडौँमा शनिवार नयाँ शक्तिको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष राउतले नयाँ पुस्तामा विचार र सिद्धान्तभन्दा पनि ‘सेलेब्रिटी’ प्रवृत्ति र विध्वंसप्रति आकर्षण बढेको टिप्पणी गरे । राजनीतिमा विचार र नैतिकताको प्रधानता हुनुपर्नेमा जोड दिए । उनले हालको राजनीतिक अवस्थालाई ‘विचारशुन्य युग’को संज्ञा दिँदै सामाजिक सञ्जालमा हुने गालीगलौज र तर्कहीन बहसले लोकतन्त्रलाई कमजोर बनाइरहेको तर्क गरे ।
संसदीय व्यवस्था र लोकतान्त्रिक मूल्यमान्यतामा ह्रास आएको उल्लेख गर्दै उनले प्रधानमन्त्री संसद्मा उपस्थित भएर जवाफ दिनुपर्ने अनिवार्य सर्त भएपनि सर्वसाधारणले त्यसलाई अनावश्यक ठान्ने परिस्थिति निर्माण हुनु दुःखद भएको बताए । अध्यक्ष राउतले पछिल्लो समय राज्यले अवलम्बन गरेको डोजर संस्कृतिको पनि आलोचना गरे ।
भौतिक संरचनाहरू भत्काउनुलाई विकास र शक्तिको प्रदर्शनका रूपमा बुझ्नु गलत भएको उनको भनाइ छ । पुरानो पुस्ताका नेताहरूले दशकौँ जेलनेल भोगेको र जनताको सेवामा समर्पित भएको भए पनि नयाँ पुस्ताले त्यसको मूल्याङ्कन गर्न छाडेको उनको विश्लेषण छ ।
डा। राउतले भने ‘हामीले एउटा सचेत र विचारले लैस वैकल्पिक राजनीतिक शक्तिको परिकल्पना गरेका थियौँ, तर आज त्यसको ठिक उल्टो वैचारिक शून्यता भएको शक्ति जन्मिएको छ । जमिन वा संरचना अवैध भए त्यसलाई राज्यले राष्ट्रियकरण गर्नुपर्छ, तर अर्बौँको क्षति हुने गरी डोजर लगाएर भत्काउनु राष्ट्रिय सम्पत्तिको विनाश हो । हामी चौबीसै घण्टा जनताको सेवामा उपलब्ध हुन्छौँ, तर आजभोलि टाढैबाट हात हल्लाउने र जनतासँग नभेट्ने प्रवृत्तिप्रति आकर्षण बढेको छ । यो डार्क साइकोलोजी र एल्गोरिदमको खेल हो, जसमा हामीजस्ता भुईँतहमा काम गर्ने नेताहरू चुकेका छौँ ।’
आफूहरूले प्रविधि र नयाँ जमानाको सञ्चार शैलीलाई आत्मसात् गर्न नसक्दा पछाडि परेको स्वीकार गर्दै उनले अब नयाँ पुस्ताको चाहनाअनुसार आफूलाई परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याए । विचार र सिद्धान्तविहीन राजनीतिले मुलुकलाई कतै नपुर्याउने भन्दै उनले राजनीतिक दलहरूमा गम्भीर समीक्षाको खाँचो रहेको बताए ।








