अपाङ्गता भएका महिलालाई अचार बनाउने तालिम

घोराही । घोराही उपमहानगरपालिका–१४ का सुमन चौधरी अचार बनाउने तालिममा सहभागी हुन पाउँदा खुसी छन् । उमेरले ३५ वर्ष पुगेका उनी शारीरिक रुपमा अपाङ्ग छन् ।
विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रको आयोजना तथा अपाङ्ग मानव अधिकार एवं सरोकार मञ्च नेपाल दाङको समन्वयमा घोराही उपमहानगरपालिका–१५ स्थित अमृत टोलमा सञ्चालन भइरहेको १५ दिने अचार बनाउने तालिममा उनीलगायत अपाङ्गता भएका व्यक्तिहरू छन् ।
घरमा बनाउँदै आएको अचारभन्दा तालिमका क्रममा सिकेको विधि धेरै फरक भएको उनले बताए । “अचार बनाउँदा के कस्ता कुरामा ध्यान दिने, कुन अचार कसरी बनाउने, यसका विधिलगायत विषय सिक्न पाए, शारीरिक रुपमा आफू अपाङ्ग भए पनि गर्न सकिने रहेछ भन्ने लागेको छ”, उनले भने ।
उनी जस्तै तालिममा सहभागी २२ वर्षीया सृजना बस्नेत पनि सीप सिक्न पाउँदा खुसी लागेको बताए । बस्नेत सुन्न सक्दैनन् । हेरेर र दोभासेको सहयोगबाट अचार बनाउने सीप सिक्न सहज भएको उनको भनाइ छ ।
नसुने पनि देखेर पनि धेरै कुरा सिक्न सकेको र प्रशिक्षकबाट पनि रामो सहयोग पाएको उनले बताए । तालिममा सहभागी भएका घोराही–१५ का २७ वर्षीया कृष्णा केसीले तालिमले धेरै सहयोग गरेको बताए । अपाङ्गता भएका व्यक्तिले अवसर पाए काम गर्न सकिने उनको अनुभव छ ।
प्रशिक्षक सुशीला थापाले अपाङ्गता भएका महिला दिदीबहिनीहरूलाई सीपमा जोड्न पाउँदा खुसी लागेको बताउँछन् । अपाङ्गता भएका व्यक्तिको जीवनयापन सहज बनाउनका लागि सबैको भूमिका महत्वपूर्ण हुने बताए ।
संस्थाका अध्यक्ष देवका खनालले दोभासेको काम गर्ने भएको हुँदा सिकाउन सहज भएको उनको भनाइ छ । सहभागीहरू पनि निकै सक्रिय भएर सिक्दै आएको उनी बताउँछन् ।








