बिमाले तोकेको भन्दा औषधिको बजार मूल्यमा ठूलो अन्तर

चितवन । ग्यास्ट्रिक हुँदा खाने प्यान्टाप्राजोल औषधि बजारमा प्रतिट्याबलेट आठ रुपियाँमा पाइन्छ ।
त्यही औषधि भरतपुर अस्पतालले रु १.१२ मा बिक्री गर्छ सोही औषधि स्वास्थ्य बिमा बोर्डले रु १.५६ मा बिक्री मूल्य तोकेको छ । सरसर्ती हेर्दा औषधि उत्पादकबाट उपभोक्तासम्म आइपुग्दाका बीचमा नाफा कति होला !
भरतपुर अस्पतालले बोलपत्रबाट खरिद गर्दाको मूल्यमा २० प्रतिशत नाफा थप गरेर बिक्री गर्दा यो मूल्य आएको हो । यसरी हेर्दा भरतपुर अस्पतालले खरिद गरेको मूल्य र औषधिको एमआरपी (खुद्रा मूल्य) हेर्दा आठ गुणभन्दा बढी फरक परेको छ ।
उक्त औषधि मात्रै होइन, प्रोस्टेटका बिरामीले प्रयोग गर्ने सिलोडोसिन ८ एमजीको बजार मूल्य रु ३५ प्रतिट्याबलेट पर्ने औषधि स्वास्थ्य बिमाले रु सात तोकेको छ ।
अस्पतालले बिमाबाहेककालाई रु ७.१५ मा कोलेस्ट्रोलका लागि प्रयोग हुने रोजोभास्टिन २० एमजीको खुद्रा मूल्य रु ३८ छ भने स्वास्थ्य बिमाले रु ३.३८ र भरतपुर अस्पतालले त्यही औषधि रु १.७२ मा कलेजोका औषधि युविलिक ३०० एमजी बजार मूल्य रु ४० छ भने स्वास्थ्य बिमाले रु ४.०५ र भरतपुर अस्पतालले ११.२६ मा बिक्री गर्छ ।
दम हुँदा तान्ने सेरिडिल २५० को रोटा क्यापको बजार मूल्य प्रतिबट्टा रु ६०८ छ भने स्वास्थ्य बिमाको रु ३२३.४० र भरतपुर अस्पतालको ३७७.९० रहेको छ ।
मधुमेहका बिरामीले खाने इन्फाग्लिप्टिन २५ एमजीको बजार मूल्य रु ३०, स्वास्थ्य बिमाको रु.१०.५० र भरतपुर अस्पतालको १६.९५ छ ।
अर्का भिटामिन बि १२ का लागि प्रयोग हुने मिथायल कोवालामिन १५०० एमजिीको बजार मूल्य रु १९.८०, स्वास्थ्य बिमा बोर्डले रु २.७० र भरतपुर अस्पतालले रु १०.५३ मा बिक्री गर्दै आएको छ ।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा विश्ववन्धु बगाले बिमाको दररेटमा कतिपय औषधि बिक्री गर्न कठिन हुने बताउछन् ।
बोलपत्रमार्फत खरिद गरेको मूल्यमा २० प्रतिशत नाफा जोडेर हुने मूल्य वा बिमाले तोकेको मूल्य जुन सस्तो छ बिमाका बिरामीका लागि सोही आधारमा औषधि बिक्री गर्ने गरेको उनले बताए ।
बगालेले आफू आए लगत्तै खरिद मूल्यमा २० प्रतिशतभन्दा बढी नहुने गरी दररेट निर्धारण गरेको हुँदा कतिपय औषधिमा बिमाले तोकेकोभन्दा सस्तो दररेटमा औषधि बिक्री गर्न कठिन हुने बताए ।
नेपाल औषधि उत्पादक सङ्घ (एपोन) का महासचिव सन्तोष बराल बजार मूल्यको आधारभन्दा सस्तोमा औषधि बिक्री गर्दा नोक्सान हुने बताउछन् ।
औषधि उत्पादकले थोक बिक्रेतालाई र थोक बिक्रेताले खुद्रा बिक्रेतालाई औषधि बिक्री गर्दछन् ।
उत्पादक कम्पनीले धेरै मिहिनेत गर्ने हुँदा लागत मूल्य निकै कम हुने औषधिको बजार मूल्य धेरै महँगो हुने गरेको गुनासो आउने गर्दछ । यद्यपी औषधिको नियम र बजार मूल्य सरकारी निकायबाट तय हुने गर्दछ ।








