प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदको जारी गतिरोधका लागि प्रधानमन्त्री बालेन्द्र साह जिम्मेवार रहेको आरोप लगाएको छ ।

मंगलबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस सचेतक निष्कल राईले प्रधानमन्त्रीको अभिव्यक्तिका कारण उत्पन्न विवादले सदन अवरुद्ध भएको दाबी गरे ।

उनले प्रधानमन्त्री साहले मुलुकको राष्ट्रियताको विषयमा गम्भीर अभिव्यक्ति दिएको भन्दै त्यसकै कारण प्रतिपक्ष दलहरू एक ठाउँमा उभिन बाध्य भएको बताए ।

‘सदन अवरोध हामीले कुनै रहरले गरेका होइनौं,’ उनले भने, ‘राष्ट्रियता र राष्ट्रिय अखण्डताको कुरा आएपछि हामी सबै प्रतिपक्ष दल एक ठाउँमा छौं । तर यो गतिरोध लामो समय राख्न सकिँदैन ।’

सचेतक राईले संसदको गतिरोध अन्त्य गर्न प्रधानमन्त्री स्वयं सदनमा उपस्थित हुनुपर्ने धारणा राखे । उनले सत्ता पक्षले पनि प्रधानमन्त्रीलाई संसदमा ल्याउन पहल गर्नुपर्ने बताए ।

‘सबैभन्दा जिम्मेवार भएकाले प्रधानमन्त्रीले डेडलक खोल्न संसदमा आउनु पर्छ,’ उनले भने । उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर छलीसम्बन्धी विषयमा संसदमा आएर स्पष्ट जवाफ दिनुपर्ने मागसमेत गरे ।

राईले दलहरूबीच संवाद जारी रहेको भन्दै सहमति, सहकार्य र संवादकै माध्यमबाट समाधान खोजिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =