नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

म्याग्दी । बेनी नगरपालिका–४ सिंगा तातोपानीको मसारमा नदी नियन्त्रण योजना लक्ष्यअघि नै सम्पन्न भएको छ ।
म्याग्दी नदीको कटान र बाढीको जोखिममा परेको तातोपानी बस्ती संरक्षणका लागि जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजना कार्यालय पोखराले ठेक्कामार्फत ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण गरेको हो ।
कार्यालयका इन्जिनियर नरजङ गुरुङले मसारस्थित म्याग्दी नदी किनारमा एक सय दुई मिटर लामो, भुइँमा चार मिटर चौडाइ भएको तीन मिटर अग्लो कङ्क्रिट र त्यसमाथि ग्याविन पर्खाल निर्माण गरिएको जानकारी दिए ।
उनका अनुसार रु तीन करोड ६८ लाख ८६ हजार ४८६ लागत अनुमान गरिएको उक्त योजना निर्माणका लागि आरआरसी/जेमी जेभीसँग विसं २०८२ वैशाख १० मा रु दुई करोड ७१ लाख ८४४ मा सम्झौता भएको थियो ।
आगामी असार २० गतेसम्मको ठेक्का अवधि भए पनि लक्ष्यभन्दा एक महिना अगावै योजना सम्पन्न गरिएको निर्माण कम्पनीका प्रतिनिधि रामचन्द्र कार्कीले जानकारी दिए ।
गत माघ महिनादेखि निर्माण थालिएकामा इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका बाबजुत कम्पनीले पाएको जिम्मेवारी समयमै पूरा गरेको उनले बताए ।
वि.सं २०७८ मा म्याग्दी नदीमा आएको बाढीले तातोपानीस्थित फापर खेत र मसारमा कटान गरेको थियो । मसारमा दुई वटा घर भत्किएका थिए ।
योजना सम्पन्न भएपछि नदी कटानको जोखिममा रहेको फापर खेतमा रहेको सरस्वती मावि, ज्वालामाई भगवती आमा समूहको भवन र मसारको १७ घरपरिवार लाभान्वित भएका छन् ।
करिब एक सय परिवारको बसोबास रहेको उपल्लो तातोपानी बजार पनि म्याग्दी नदीको कटानको जोखिममा छ । यसअघि ग्यावियन पर्खाल निर्माण गरेर नदी नियन्त्रण गरिँदै आएकामा गत वर्षदेखि पक्की पर्खाल निर्माण गर्न थालिएको वडाध्यक्ष अणबहादुर खड्काले बताए ।
गत वर्ष सङ्घीय सरकारको बजेट सहयोगमा सरस्वती माविको पछाडि ६६ मिटर लामो कम्पोजिट प्रविधिको पर्खाल निर्माण गरिएको थियो ।
यस्तै, प्रदेश सरकारको सहयोगमा उपल्लो तातोपानी बजार पछाडि ४० मिटर लामो पलम, शेयर र ग्यावियन पर्खाल निर्माण गरिएको थियो । यसपालि प्रदेश सरकारले विनियोजन गरेको २० लाख बजेटबाट पनि सोही क्षेत्रमा थप संरचना निर्माण गरिएको छ । प्राकृतिक उपचार स्थलको रूपमा परिचित तातोपानी म्याग्दीको प्रमुख पर्यटकीय स्थल हो ।








