प्रधानमन्त्रीले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले

काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको नेपाल–भारत सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिँदै क्षमायाचना नगरेसम्म संसदको कारबाही अघि बढ्न नदिने चेतावनी दिएको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै एमालेकी सचिव तथा सांसद पद्मा अर्यालले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षी दलहरूले पटक–पटक आपत्ति जनाउँदा पनि सरकारले बेवास्ता गरेको आरोप लगाइन् ।
उनले २०७७ साल जेठ १३ गते जारी गरिएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्साको प्रसंग उल्लेख गर्दै राष्ट्रियताको सवालमा त्यतिबेला सत्ता र प्रतिपक्षबीच अभूतपूर्व एकता देखिएको स्मरण गराइन् । राजनीतिक मतभेद हुँदाहुँदै पनि सबै दलले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सालाई राष्ट्रिय मुद्दाका रूपमा स्वीकार गरेको उनको भनाइ थियो ।
अर्यालले उक्त नक्सालाई संविधानको अनुसूची संशोधनमार्फत संविधानको अंग बनाइएको उल्लेख गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको अभिन्न भूभाग भएको दोहोर्याइन् ।
संसदमा बोल्दै उनले प्रधानमन्त्रीले रोस्ट्रमबाट दिएको अभिव्यक्ति तत्काल सच्याएर क्षमायाचना गर्नुपर्ने माग गरिन् ।
“प्रधानमन्त्रीज्यूले संसदको रोस्ट्रममा दिएको अभिव्यक्तिको भूलसुधार गरियोस्, क्षमायाचना गरियोस् र संसदलाई सुचारु ढंगले अगाडि बढाइयोस् भनेर हामीले पटक–पटक ध्यानाकर्षण गराएका छौं,” उनले भनिन् ।
उनले राष्ट्रियताको विषयमा कुनै पनि प्रकारको सम्झौता स्वीकार्य नहुने स्पष्ट पार्दै नेपालको अतिक्रमित भूमि समेटिएको नक्सा संविधानमै समावेश भइसकेकाले त्यसप्रति सबैले सम्मान जनाउनुपर्ने बताइन् ।
एमालेले प्रधानमन्त्री साहले आफ्नो अभिव्यक्ति फिर्ता नलिएसम्म संसद सञ्चालन हुन नदिने अडान कायम राखेको छ ।








