मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको बताएका छन् ।

सोमवार माइतीघरमा जनमत पार्टीले गरेको प्रदर्शनमा सम्बोधन गर्दै उनले नेपालमा जुनसुकै शासन व्यवस्था आएपनि मधेसका मागप्रति अनुदार हुने गरेको बताएका हुन् ।

उनले मधेसबाट मत लिएर सरकार बनाउने तर मधेसका अधिकारका सवालमा बेवास्ता गर्ने प्रवृत्ति निरन्तर रहेको आरोप लगाए । राणा शासनकालमा मधेसमाथि उपनिवेशवादी शासन लादिएको दाबी गर्दै उनले पछिल्ला ७५ वर्षमा काँग्रेस र कम्युनिष्ट दलहरूले पनि मधेसलाई विभिन्न रूपमा ठग्दै आएको आरोप लगाए ।

२००७/००८ सालपछि काँग्रेस र कम्युनिष्टहरुले सत्ताको नेतृत्व गरेपनि आजसम्म मधेसीलाई पूर्ण अधिकार नदिएको उनको भनाई छ । उनकाअनुसार नागरिकता, सुकुम्वासी व्यवस्थापन र स्वायत्तता लगायतको मधेसको माग पूरा हुन सकेको छैन । उनले सशस्त्र द्वन्द्वका क्रममा पनि मधेसी समुदाय अपेक्षित उपलब्धिबाट वञ्चित भएको दाबी गर्दै माओवादी नेतृत्वको आन्दोलनबाट समेत मधेसीहरू ठगिएको बताए । मधेसको राजनीतिक, सामाजिक र संवैधानिक अधिकार सुनिश्चित नभएसम्म विभेद अन्त्य नहुने उनको दाबी छ ।

उनले भने ‘मधेसलाई राणाहरूले पनि ठगे, उपनिवेश शासन नै लादे, काँग्रेस कम्युनिष्टहरुले पनि विगत ७५ वर्षदेखि ठग्दै आएको हामीकहाँ प्रमाण नै छ । २००७/००८ सालमा काँग्रेसहरूको सत्ता आयो तर अहिलेसम्म कुनै अधिकार नदिने, नागरिकता नदिने, सुकुम्बासीहरुलाई व्यवस्थापन नगर्ने, स्वायत्तता नदिनेगरि विभिन्न रूपले ठगी गर्दै आएको छ । मत चाहिँ मधेसबाट लिने, सरकार चाहिँ मधेसबाट नै बनाउने तर जहिले पनि अधिकार चाहिँ नदिने षड्यन्त्र हुँदै आएको छ । त्यति मात्रै होइन माओवादी आन्दोलन हुँदा पनि मधेसीहरू ठगिएइको हामीकहाँ प्रमाण छ ।’

उहाँले मधेसका माग सम्बोधन गर्न वर्तमान सरकारलाई आग्रह गरे । मधेसको माग सम्बोधनको लागी जिल्ला प्रशासन कार्यालयमार्फत सोमबार नै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइने उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =