वर्गीय विभेदको ऐना बनेको नाटक ‘लाहुरी भैंसी’ (तस्बिरहरू)

काठमाडौं । वि.सं. २०१६–२०१७ तिर कथाकार रमेश विकलद्वारा लिखित तथा मदन पुरस्कार विजेता कथासङ्ग्रह ‘नयाँ सडकको गीत’ मा समावेश कथा ‘लाहुरी भैंसी’ यही जेठ २२ गतेदेखि मण्डला थिएटर, थापागाउँमा मञ्चन भइरहेको छ ।
ए जे बब स्टुडियो र क्रुक इन्टरटेनमेन्टको प्रस्तुति रहेको यो नाटकले सीमान्तकृत समुदायका लुखुरे र उनको परिवारले एउटा भैंसी किन्न गरेको संघर्षमार्फत् नेपाली ग्रामीण समाजको वर्गीय संरचना, शोषण र शक्ति सम्बन्धको यथार्थ उजागर गर्छ ।
रंगकर्मी अनुप न्यौपानेले निर्देशन गरेको नाटक ‘लाहुरी भैंसी’ मा एउटा सामान्य परिवारको सानो सपना कसरी गाउँका टाठाबाठा, शोषक र सामन्त वर्गका लागि चुनौती बन्छ भन्ने देखाइएको छ ।
शक्ति र पहुँच भएकाहरूले ज्ञान, भ्रम र अफवाहलाई हतियार बनाएर समाजलाई आफ्नो पक्षमा कसरी मोड्छन् भन्ने विषयलाई नाटकले प्रभावकारी ढंगले प्रस्तुत गरेको छ ।
कुनै भौतिक हिंसा वा हतियारबिना पनि अफवाह र मानसिक दबाबले मानिसको चेतना र जीवनमा कस्तो गहिरो प्रभाव पार्न सक्छ भन्ने पक्ष नाटकको मुख्य केन्द्रमा छ ।
नाटकमा कलाकारहरु नबिन ख्युङ्बा तामाङ, सुष्मिता कार्की, भास्कर बुढा, प्रेम देव विश्वकर्मा, मोहन भण्डारी, सन्देश पाण्डे, रोशन कायस्थ, सुनिल राई, अमृत सुनार, तरुण देउबा, श्रेया श्रेष्ठ, समीर भट्टराई, ज्योत्स्ना घिमिरे, मेलिना राई, अनुष्का कार्की, पाल्देन घिसिङ, सेजल गौतम, मृदुल कृष्ण दाहाल र विनय पन्तको अभिनय रहेको छ ।
कथाकार रमेश विकलको मूल कथालाई संयोग गुरागाइँले नाट्य रूपान्तरण गरेको यो नाटक, असार ७ गतेसम्म सोमबार बाहेक हरेक साँझ ५:३० बजे र शनिबार दिउँसो १:३० बजे अतिरिक्त शो मञ्चन हुने छ ।
‘लाहुरी भैंसी’ केवल एउटा परिवारको कथा होइन, नेपाली समाजमा विद्यमान वर्गीय असमानता, संघर्ष र चेतनाको कथा पनि हो ।
तस्बिरहरू:









