सीमा विवाद कुटनीतिक ढंगले टुंग्याउँछौँ, संयन्त्रहरुले काम गरिरहेका छन्ः परराष्ट्रमन्त्री खनाल
भारत भ्रमण उपलब्धिमूलक रह्यो, नेपाल–भारत सम्बन्धमा ठोस प्रगति भयो

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किएका छन् ।
भारतीय विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा गएका खनालसहितको प्रतिनिधिमण्डल आइतबार साँझ स्वदेश फर्किएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले भ्रमण उपलब्धिमूलक रहेको दाबी गर्दै नेपाल–भारत सम्बन्धलाई थप व्यवहारिक, प्रविधिमैत्री र परिणाममुखी बनाउने दिशामा महत्वपूर्ण प्रगति भएको बताए ।
उनका अनुसार सन् २०२३ मा नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतको नेशनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डियाबीच भएको समझदारीअनुसार व्यक्तिदेखि व्यक्तिसम्म हुने सीमापार डिजिटल भुक्तानी प्रणालीको पूर्ण सञ्चालनका लागि सहमति भएको छ ।
‘व्यक्तिदेखि व्यक्ति सीमापार भुक्तानी कारोबारको पूर्ण रूपमा सुरुआत गरिएको छ,’ मन्त्री खनालले भने ।
उनले २०७२ सालको भूकम्पपछिको पुनर्निर्माण कार्यक्रमअन्तर्गत भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएका ७२ स्वास्थ्य संस्था र १२ सांस्कृतिक सम्पदा पुनर्निर्माण परियोजना औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको जानकारी पनि दिए ।
प्रविधिको क्षेत्रमा काठमाडौं विश्वविद्यालयको स्कूल अफ इन्जिनियरिङअन्तर्गतको सेन्टर फर डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर र भारतको डिजिटल इन्डिया भाषिनी डिभिजनबीच ‘भ्वाइस फर्स्ट’ भाषा अनुवाद मञ्च विकासका लागि राष्ट्रिय डिजिटल सार्वजनिक पूर्वाधार सहनिर्माण गर्ने सम्झौतापत्र आदानप्रदान भएको उनले बताए ।
उनका अनुसार उक्त सहकार्यले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
भ्रमणका क्रममा भारतीय विदेशमन्त्री जयशंकरसँग द्विपक्षीय सम्बन्ध, कूटनीतिक सहकार्य, व्यापार, पूर्वाधार विकास तथा सीमासम्बन्धी विषयमा समेत छलफल भएको मन्त्री खनालले जानकारी दिए ।
नेपाल–भारत सीमा विवादबारे बोल्दै उनले दुवै देशका विद्यमान संयन्त्रमार्फत कूटनीतिक ढंगले समाधान खोज्ने विषयमा छलफल भएको बताए ।
‘सीमासँग सम्बन्धित विषयलाई कूटनीतिक माध्यम र विद्यमान संयन्त्रमार्फत समाधान गर्ने पहिलेदेखिकै अडान हो । अहिले पनि सोही ढंगले संयन्त्रहरूले काम गरिरहेका छन्,’ उनले भने ।
मन्त्री खनालले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन तथा उपयोगिता बढाउने विषयमा पनि भारतीय पक्षसँग छलफल भएको जानकारी दिए। यस सम्बन्धमा छिट्टै प्राविधिक समितिको बैठक बस्ने उनले बताए ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा भएका सहमति र छलफलले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।








