ईश्वरी भुजेल मृत्यु प्रकरण: ‘नेपाली ब्रो’सहित चार जना पक्राउ

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा ४२ वर्षीया ईश्वरी भुजेलको मृत्यु प्रकरणमा प्रहरीले ‘नेपाली ब्रो’ भनेर चिनिने उनका श्रीमान् कुमार थापासहित चार जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार भुजेलको मृत्युमा संलग्न रहेको आरोपमा थापासहित अन्य तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको हो ।
पक्राउ पर्नेहरूमा नुवाकोटको तारकेश्वर गाउँपालिका–४ का ३६ वर्षीय विक्रम थापा मगर, काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने ४० वर्षीय पुजन थापा क्षेत्री र जुम्लाको हिमा गाउँपालिका घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ बस्ने २५ वर्षीया प्रतिक्षा आचार्य रहेका छन् ।
प्रहरीका अनुसार घरायसी विवादका क्रममा कुमार थापाले श्रीमती भुजेलमाथि फलामको रड प्रहार गरेका थिए । घटनामा गम्भीर घाइते भएकी भुजेललाई उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो ।
उपचारकै क्रममा शुक्रबार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक भुजेल नेपाली सेनामा कार्यरत थिइन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार घटनामा जाहेरी परेका चारै जनालाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको छ ।
प्रहरीका अनुसार कुमार थापा सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’ नामबाट परिचित छन् र आफूलाई प्रो–रेस्लरका रूपमा चिनाउने गरेका थिए ।
घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।








