स्वास्थ्य बीमा सुधारका लागि ऐन संशोधन आवश्यक: सचिव देवकोटा

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि ऐन संशोधन अपरिहार्य रहेको बताएका छन् ।

आइतबार मन्त्रालयमा सञ्चारकर्मीहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले बीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्न नीतिगत तहमा नै सुधार आवश्यक रहेको उल्लेख गरे ।

सचिव देवकोटाले सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको दाबी गर्दै हालै बजेट पनि उल्लेखनीय रूपमा वृद्धि गरिएको जानकारी दिए ।

‘बीमा सुधारका थुप्रै कुरा आएका छन् । हामीले गरेका निर्णयहरूका आधारमा तत्कालै सुधार गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘यसका लागि ऐन संशोधन गर्नुपर्ने हुन्छ ।’

उनका अनुसार स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि आगामी साउन १ गतेदेखि आवश्यक नीतिगत प्रक्रिया अघि बढाउनुपर्ने अवस्था छ । उनले सरकारले यस विषयलाई प्राथमिकतामा राखेर अघि बढ्ने विश्वास व्यक्त गरे ।

सचिव देवकोटाले चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षका लागि स्वास्थ्य बीमा बजेट दोब्बर बनाइएको उल्लेख गर्दै यसलाई सरकारले उच्च प्राथमिकतामा राखेको स्पष्ट हुने बताए ।

‘विगतमा करिब साढे ७ अर्ब रुपैयाँ बजेट थियो, आगामी वर्षका लागि १५ अर्ब विनियोजन भएको छ,’ उनले भने, ‘यसले सरकार यस कार्यक्रमप्रति गम्भीर छ भन्ने देखाउँछ ।’

उनले आगामी तीन वर्षभित्र आधारभूत स्वास्थ्य सेवा सबै नागरिकसम्म पुर्‍याउने गरी सरकारले काम गर्ने लक्ष्य रहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 18 =