बालेनको स्टाटसले व्यक्तिगत आक्रोश झल्कायो: महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा गरेको टिप्पणीप्रति आपत्ति जनाउँदै त्यसले प्रधानमन्त्री पदको गरिमा र जिम्मेवारीबारे गम्भीर प्रश्न उठाएको बताएका छन् ।
प्रधानमन्त्री शाहले फेसबुकमा ‘मलाई पनि एम्बासडर बन्न मन छ, पिएमको नम्बर दिनुस् न’ भन्ने व्यंग्यात्मक स्टाटस लेखेपछि बस्नेतले प्रतिक्रिया जनाएका हुन् ।
सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्रीजस्तो उच्च सार्वजनिक पदमा रहेको व्यक्तिबाट यस्ता अभिव्यक्ति आउनु कति उपयुक्त हो भन्ने प्रश्न गरेका छन् ।
बस्नेतले मधेशका एक वरिष्ठ कर्मचारीमाथि समान प्रकृतिको एसएमएसका कारण प्रहरीबाट दुर्व्यवहार भइरहेको प्रसंग उल्लेख गर्दै त्यसलाई गम्भीर रूपमा सम्बोधन गर्नुको सट्टा प्रधानमन्त्रीले व्यंग्यात्मक शैली अपनाएको आरोप लगाए ।
‘अझ मधेशकै एक वरिष्ठ कर्मचारीमाथि सोही व्यहोराको एसएमएस लेखेबापत प्रहरीबाट दुर्व्यवहार भइरहेका बेला त्यसलाई गम्भीर रूपमा सम्बोधन गर्नुको सट्टा “आफू नै मधेसको छौरा हुँ” भनेर दाबी गर्ने व्यक्तिले यसरी व्यंग्य गर्नु अमानवीय कार्य हो,’ बस्नेतले लेखेका छन् ।
उनले प्रधानमन्त्रीको पछिल्लो शैलीले परिपक्व नेतृत्वभन्दा व्यक्तिगत असन्तुष्टि र आक्रोश बढी झल्काएको दाबी गरेका छन् । राज्य सञ्चालन गर्ने व्यक्तिबाट संयम, जिम्मेवारी र संस्थागत मर्यादाको अपेक्षा गरिने उल्लेख गर्दै उनले आफूले व्यक्तिगत कटाक्ष गर्न नचाहेको बताएका छन् ।
तर, प्रधानमन्त्रीको पछिल्लो व्यवहारप्रति टिप्पणी गर्दै बस्नेतले ‘कहिलेकाहीँ यस्तो व्यवहारले बालेन अत्यधिक इगो हर्ट भएको व्यक्ति त हुँदै हो, तर पछिल्लो उनको व्यवहारले उनलाई मनोवैज्ञानिक परामर्श गराउन आवश्यक चरणमा पुगेका हुन् कि भन्ने देखाउँछ’ भनी टिप्पणी गरेका छन् ।








