वेस्ट बैंकमा इजरायली बस्ती बासिन्दाद्वारा आक्रमण, ९ प्यालेस्टिनी घाइते

एजेन्सी । प्यालेस्टिनी स्रोतहरूकाअनुसार उत्तरी वेस्ट बैंकको नाब्लसस्थित हवारा शहरमा शनिवार इजरायली बस्ती बासिन्दाहरूले गरेको आक्रमणमा परी नौ जना प्यालेस्टिनी घाइते भएका छन् ।
स्थानीय स्रोत र प्रत्यक्षदर्शीहरूले दिएको जानकारीअनुसार दर्जनौंको संख्यामा आएका इजरायलीहरूले हवारा नगरपालिकाको भवनमा आक्रमण गरी त्यहाँका कर्मचारीहरूमाथि कुटपिट गरेका थिए । त्यसैगरी, उनीहरूले एउटा पशुफार्मभित्र केही मानिसहरूलाई घेराबन्दीमा समेत पारेका थिए ।
आक्रमणकारीहरूले विभिन्न सवारी साधनका झ्यालहरू फुटाउनुका साथै एउटा कार, एउटा साइकल र करिब ३५ वटा भेडा लुटेर लगेको बताइएको छ । यस घटनापश्चात् स्थानीय बासिन्दा र आक्रमणकारीहरूबीच झडप शुरु भएको थियो ।
प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले एक विज्ञप्ति जारी गर्दै आफ्ना टोलीहरूले आक्रमणमा घाइते भएका नौ जनाको उपचार गरेको पुष्टि गरेको छ । घाइतेमध्ये एक जनालाई रबरको गोली लागेको छ भने पाँच जना अश्रुग्यासका कारण प्रभावित भएका छन् । अन्य तीन जना भने गम्भीर कुटपिटबाट घाइते भएको सोसाइटीले जनाएको छ ।
यसैबीच, इजरायल रक्षा बल (आईडीएफ) ले शनिवार एक विज्ञप्ति जारी गर्दै इजरायली नागरिकहरूको पशुधन चोरी भएको सूचना पाएपछि उक्त क्षेत्रमा केही व्यक्तिहरू भेला भएको र त्यसले प्यालेस्टिनी तथा इजरायली नागरिकहरूबीच ‘हिंसक झडप’ को रूप लिएको बताएको छ ।
आईडीएफले भीडलाई तितरबितर पार्न दंगा नियन्त्रणका उपायहरू प्रयोग गरिएको र थप अशान्ति रोक्न सुरक्षा बल उक्त क्षेत्रमा तैनाथ रहेको उल्लेख गरेको छ । करिव ८ हजार जनसंख्या भएको हवारा शहर प्यालेस्टिनी र इजरायलीहरूबीच बारम्बार झडप भइरहने क्षेत्र मानिन्छ ।
यसै सन्दर्भमा, प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन (पीएलओ) संवद्ध पर्खाल र बस्ती विरुद्धको आयोगका प्रमुख मोयद साबानले मे महिनामा मात्र इजरायली सेना र बस्ती बासिन्दाहरूले वेस्ट बैंकमा १ हजार ६ सय ५९ वटा आक्रमण गरेको दाबी गरेका छन् ।








