श्रमिकका लागि दोहामा सचेतना कार्यक्रम

काठमाडौं । दोहास्थित नेपाली राजदूतावासले शुक्रबार नेपाली श्रमिकका लागि सचेतना कार्यक्रमको आयोजना गरेको छ ।

नेपाली समुदायका लागि कतारको राष्ट्रिय मानवअधिकार समितिका कानुनी सल्लाहकार हमिद खानले आफ्नो प्रस्तुतिमार्फत कतारमा रहँदा पालना गर्नुपर्ने नियम, कानुनका बारेमा जानकारी दिँदै कतार बसाइका क्रममा आइपर्नसक्ने सम्भावित जोखिमहरूका बारे सहभागीहरूलाई सचेत गराएका थिए ।

राजदूतावासका श्रम सहचारी सीता दुवाडीले नेपालको श्रम कानुन, श्रम स्वीकृति प्रक्रिया तथा सामाजिक सुरक्षामा जोडिँदा लिन सकिने लाभका बारेमा जानकारी दिएका थिए ।

उक्त राजदूतावासका अनुसार द्वितीय सचिव स्मारिका सुवेदीले राजदूतावासबाट प्रदान गरिने राहदानी तथा कन्सुलरसम्बन्धी सेवाबारे जानकारी दिएकी थिइन् ।

कतारस्थित हिमाल रेमिटका प्रतिनिधि वेनुप्रसाद तिम्सिनाले बैंकिङ तथा विप्रेषण सचेतनाअन्तर्गत औपचारिक माध्यमबाट विप्रेषण पठाउँदाका फाइदा तथा अनौपचारिक माध्यम प्रयोग गर्दाका जोखिमबारे सचेत गराएका थिए ।

कार्यक्रमको समापन गर्दै कार्यवाहक राजदूत कुमार राईले नेपाली कामदारहरूलाई कतारको श्रम कानुनको पूर्णपालना गर्न अनुरोध गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eight =